
काठमाडौँ, ११ जेठ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।
वुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा आफ्नो पार्टीको निराशाजनक परिणाम आएपछि उनले राजीनामा दिएका हुन् ।
‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’
‘विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ,’ उनले भनेका छन् ।
‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो,’ उनले भने, ‘सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु ।’
त्यस्तै असहमति राखेर राजीनामा दिएकाहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।















प्रतिक्रिया