६ कार्तिक २०८३, शुक्रबार

मेयर थापाको पहिलो निर्णय : माध्यमिकसम्म शिक्षा निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, १० जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले अनिवार्य माध्यमिक शिक्षा सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन् ।

निर्वाचित भएपश्चात् पहिलो दिन कार्यालयमा पदभार ग्रहण गर्दै थापाले नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तहसम्म कुनै पनि शुल्क तिर्नु नपर्ने बताए । सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न वाहानामा शुल्क लिइरहेकोले विद्यालयहरूलाई नगरले सहयोग गरेर उक्त शुल्क लिन नपाउने थापाले बताएका छन् ।

नगरमा रहेका मदरसाहरूलाई प्राथमिकता राखेर विद्यार्थीबाट कुनै शुल्क लिन नपाउने गरी विद्यालय तथा मदरसाहरूलाई नगरले सहयोग गर्ने बताए । विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने थापाको भनाई छ ।

सभ्य समाज निर्माणको लागि सबै नगरवासीहरू शिक्षाको पहुँचमा हुनुपर्ने भएकाले आफूले शिक्षालाई प्राथमिकतामा राखेको बताए । सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने उनले बताए ।

‘जनताले ठूलो आशासहित मलाई मत दिएर विजय गराउनुभएको छ, मैले यो विश्वास लाई पुरा गर्ने छु,’ थापाले भने, ‘शिवराज नगरपालिकालाई आगामी पाँच वर्षमा उल्लेखनिक काम गरेर नमुना बनाउने प्रयास हुने छ ।’

नगरप्रमुख थापाले पदभार ग्रहण गर्दै मतदातालाई धन्यवाद समेत दिएका छन् ।