विराटनगर, १७ जेठ । गुन्डागर्दीलगायत आपराधिक गतिविधिविरुद्ध कार्यक्रम सञ्चालन गरेको मोरङ प्रहरीले सडक (ट्राफिक नियम उल्लंघन नियन्त्रण) मा कडा निगरानी सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरीको सहकार्यमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने, तीन जना चढ्ने र सडक ढाकेर वर्कसप सञ्चालन गर्नेमाथि कारबाही सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ‘अन द स्पट’ कारबाहीदेखि केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने बताउनुभयो । यस्तै सडक ढाक्नेगरी वर्कसप चलाउनेलाई पनि हटाउन सुरु गरिसकेको छ । विगत चार दिनदेखि मोरङ प्रहरीले सुरु गरिएको ‘स्विप अपरेसन’ अभियानमा अहिलेसम्म तीन दर्जनभन्दा बढी पक्राउ परिसकेका छन् ।
तीमध्ये एक दर्जनलाई केही सार्वजनिक अपराधअन्तर्गत आवश्यक कारबाही थालिएको ढकालले बताउनुभयो । गुन्डागर्दी, वेश्यावृत्ति, महिला हिंसालगायत आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले ‘स्विप अपरेसन’ थालेको थियो । आकस्मिक तरिकाले जाँच गरिने यो अपरेसनमा निर्दोषलाई तत्कालै छोडिने गरिएको छ । सम्भावित अपराध हुने स्थलहरु हाटखोला, देवकोटा चोक, गुद्री बसपार्क, पाञ्चाली, बरगाछीलगायत क्षेत्रलाई मुख्य आधार बनाएर अपरेसन सञ्चालन गरिएको छ ।
यसैबीच, सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले जनशक्ति वृद्धि गरेको छ । सीमावर्ती नाकाहरुमा चारदेखि छ जनासम्म प्रहरी टोली बढाएर निगरानी बढाएको छ । तस्करी, हातहतियार ओसारपसार, हातहतियार कारोबार, चेलीबेटी बेचबिखन र राजस्व छलीमाथि प्रहरीले थप कडाइ थालेको छ ।














प्रतिक्रिया