
इटहरी, २७ वैशाख। स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेदवारमा एमाले र गठबन्धनको मात्र प्रतिस्पर्धा हुने भनिए पनि सबैभन्दा हानि गर्न सक्ने शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि उभिएको छ।
राप्रपाका तर्फबाट इटहरीमा प्रभाव राख्ने पूर्वप्रधानपञ्च, पूर्वमन्त्री कुमार सुब्बाका छोरो आकाश सुब्बा मेयरका उम्मेदवार छन्। युवामाझ प्रभाव राख्ने आकाशका निम्ति बुवा कुमार सुब्बा आफैं पनि खटिरहेका छन्। बाबुको विरासतको प्रभावसँगै आफ्ना पुस्ताका युवाको साथ उनलाई रहेको बताइन्छ।
इटहरीमा राप्रपाले यसअघिको स्थानीय निर्वाचनमा सहभागीता जनाएको थिएन। अघिल्लो पटक अघोषित रुपमा एमालेलाई सघाएको दाबी गर्ने राप्रपाले यस पटक कांग्रेस र एमालेको नै मत तान्न सक्ने अनुमान गरिएको छ।
‘युवाको मत तानेर कांग्रेसका हेमकर्ण पौडेललाई असर गर्छन् भने आदीवासी जनजाती मतमा एमालेका याम सुब्बालाई धक्का दिन सक्ने ताकत राप्रपा बनेको छ’, स्थानीयवासी भन्छन्,‘अघिल्लो पटक जितेको एमाले र वडामा कांग्रेसले काम नगरेका कारण पनि मेयरमा नयाँ युवाका रुपमा आकाश आउन सक्ने सम्भावना रहेको छ।’
राप्रपाले इटहरीमा चुनावी सभा ठूला नगरे पनि घरदैलोमा भने आक्रामक प्रचार गरेको जारी राखेको छ।











प्रतिक्रिया