
काठमाडौं, २६ वैशाख। संगठनलाई चलायमान, सृजनात्मक र आधुनिक युगमा आक्रामक पनि बन्ने अपेक्षा राखेका छन् नेपाल प्रहरीका विभिन्न ओहदा र दर्जाका कर्मचारीले। धीरजप्रताप सिंह संगठन प्रमुखका रुपमा आउनासाथ चुनावी सुरक्षालगायतका विषयमा संगठनको जिम्मेवारी लिएका विभिन्न अधिकारीसँग भर्चुअल ब्रिफिङमा सरिक भइसकेका छन्।
अपराध र गुन्डागर्दीलाई आफूले पाएको जिम्मेवारीको तहमा निमिट्यान्न पार्न सक्षम उनका योजना केही समयमा आउने नै छन्। ‘अहिले चुनावी सुरक्षामा केन्द्रित बनौं, पछि रणनीति आउनेछ र संगठन दरिलो हुनेछ’, आईजी सिंहले ब्रिफिङका क्रममा अधिकारीहरूलाई भनेका छन्,‘प्रहरीको बाटो स्पष्ट हुनेछ, अस्पष्ट बन्नु हुन्न।’
भयरहित अवस्थामा मतदान गर्न र सुरक्षाका निम्ति नेपाल प्रहरी रहेको सन्देश दिएका सिंह अपराध र गुन्डागर्दीका लागि भने बज्रपात हुन्। उनले विगतमा गरेका कामले नै यसको पुष्टि गर्दछ।
प्रहरी उपरिक्षकका जिम्मेवारी सम्हाल्दा सिंहले महत्वपूर्ण प्रकरण र काण्ड सुल्झाए। २०७४ मा उनी दाङ प्रहरी प्रमुख हुँदा तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भएका थिए।
ति प्रकरणका दोषी अहिले जेलमा सजाय काटिरहेका छन्। श्रेष्ठको दाङका टीकाराम घर्तीले आफ्नै छोरी प्रयोग गरेर हनी ट्रयाप गरेर अपहरणपछि सल्यानको जंगलमा हत्या गरेका थिए। घटना भएको साढे दुई वर्षपछि २०७६ मा जिल्ला अदातल दाङले घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।
‘अपराध सहनु र गुन्डागर्दी सहनु भनेको पनि एउटा अपराध सरह हुन्छ। प्रहरी के का लागि भन्ने प्रश्न सँधै मनमा राखेर काम गर्ने बानी छ’, आईजी सिंह सन्निकट रहेर कतिपय कमान्डमा काम गरेका अधिकारी भन्छन्,‘कुनै अपराधको खोजीनीति गर्नुछ भने त्यसलाई निमिट्यान्न बनाउनुपर्छ भन्ने सरको बानी छ, जुन प्रहरी कमान्डरमा हुनुपर्छ।’
सिंहले राजनीतिक दबाबका अगाडि अभियुक्तलाई छाडा गर्नुपर्छ भन्ने मान्यता पटक्कै नराख्ने पर्याप्त उदाहरण छन्।

काभ्रेली गुन्डा सत्य लामालाई पक्राउ गरी अनुसन्धानको म्याद थप्दै गर्दा उनलाई राजनीतिक दबाब आएको थियो। तर त्यसलाई बेवास्ता गरी प्रहरीको काम छाडेनन्।
प्रहरीले आफ्नो जीवन एउटा नागरिकको सुरक्षाका निम्ति प्रत्येक दिन बाँचिरहेको हुन्छ। तर व्यवस्थाको सबलीकरणसँगै सन्तुलित समाजलाई खल्बल्याउने प्रयत्नलाई पनि रोक्नुपर्छ भन्ने मानकका रुपमा आईजी सिंहको ‘पुलिसिङ’ हुने धेरैले विश्वास गरेका छन्
महानगरीय अपराध महाशाखामा रहँदा उनले यस्तो दबाब केही बर्षअघि मात्र खेपेका थिए। सांसद नवीना लामाले म्याद नथप्नका लागि महाशाखामा टेलिफोन गरेकी थिइन्। तर कानुनलाई कसैको दबाबले मिच्न हुन्न भन्ने मान्यता सिंहले स्थापित गरिदिए।
‘एउटा गुन्डा नाइकेले कसरी सम्पत्ति आर्जन गर्छ ? यो ओपन सेक्रेट नै छ । अनुसन्धान गरी उसैको बयानका आधारमा सम्पत्तिको स्रोतको खोजी हुन्छ’, सिंहले त्यसबेला भनेका थिए,‘उसको गुन्डागर्दीबाट प्रभावित भएका व्यापारी, सर्वसाधारण र आम नागरिकले राहत महशुस गरेको पाटोलाई बिर्सन हुन्न।’
काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ पनि महाशाखाको इन्काउन्टरमा मारिएका थिए। बालकको हत्या गरी महाशाखाको टोलीमाथि फायरिङ गर्ने उनीहरूविरुद्ध प्रतिरक्षामा गोली चलाइएको थियो। सिंह नै महाशाखा प्रमुख थिए।
प्रहरी नायव महानिरिक्ष (डीआईजी)मा बढुवा भएपछि सिंह मधेस प्रदेशका प्रमुख भए। सिंहको कमान्डमा रहेको प्रदेश प्रहरी अपराधविरूद्धको अभियानमा सक्रिय रह्यो। त्यसताका विविध हत्या प्रकरणका दोषीलाई भारतीय सीमाबाट पक्राउ गरी कानुनी कठघरामा उभ्याउने मात्र होइन, बर्षौंअघि हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्दै जेलसम्म लग्ने अभियान नै चलाए।
‘एउटा प्रहरी अधिकारीले अपराधको प्रकृति, त्यसका फरार अभियुक्तका बारेमा रेकी हालिरहेको हुन्छ। कुनै पनि अर्थमा छाड्न हुन्न भन्ने मानसिकताका आधारमा नै गज्जब पुलिसिङ हुन्छ, त्यो नेतृत्वको कौशलता सिंहले देखाउनुभयो’, एक प्रहरी अधिकारी भन्छन्।
सिंहले भर्खरै मात्र कमान्ड सम्हालेकाले कस्तो रणनीति अख्तियार गर्छन् भन्ने चासो त एकातिर छँदै छ तर उनका अभ्यासले केही हेक्का गर्न सकिने पनि देखिन्छ।
प्रहरीले आफ्नो जीवन एउटा नागरिकको सुरक्षाका निम्ति प्रत्येक दिन बाँचिरहेको हुन्छ। तर व्यवस्थाको सबलीकरणसँगै सन्तुलित समाजलाई खल्बल्याउने प्रयत्नलाई पनि रोक्नुपर्छ भन्ने मानकका रुपमा आईजी सिंहको ‘पुलिसिङ’ हुने धेरैले विश्वास गरेका छन्।















प्रतिक्रिया