६ कार्तिक २०८३, शुक्रबार

गठबन्धनवालालाई छोरी र श्रीमतीको चिन्ता छ, एमालेलाई देशकोः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्रै देशका लागि चिन्ता गर्ने बताएका छन् ।

रुपन्देहीको बुटवलमा आयाजित विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले देशको चिन्ता गर्ने भएकै कारण ५ दलीय छोडेर सबै दल एकातिर भएपनि नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् ।

ओलीले भने, ‘अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्याउन सक्दैन, १ शेर एकातिर १० वटा स्याल एकातिर हो एमाले । जस्तोसुकै गठबन्धनका लागि एमाले एक्लै काफी छ, यो जनताको पार्टी हो जनताले जिताउने हो कुनै गठबन्धनले होइन ।’

जनताको काम गरेर मन जितेको एमालेलाई पदका लागि गरिएको गठबन्धनले केही क्षति नपुर्याउने ओलीको भनाइ थियो ।

‘पाँच दिनपछि चुनाव हुँदैछ, केही दिनमा नतिजा आउँदैछ, यो निर्वाचन कस्तो हो भनेर देखाउने जिम्मेवारी यहाँका जनताले देखाउनुछ । यसअघि पनि यो क्षेत्र एमालेको किल्ला हो यसका लागि तपाईंहरूलाई धन्यवाद छ । अब त्यो किल्ला जोगाउनका लागि प्रतिबद्ध भएर लाग्नुस् ।’

ओलीले नेकपा एमालेले लिएको नीति, विकास र राष्ट्रिय एकताको नेतृत्व नै आफूहरूको जित्ने आधार भएको स्पष्ट पारे ।

‘देउवा आफैंले प्रधानमन्त्री हुन मन थिएन भनेर धेरै ठाउँमा भन्नुभएकै छ, मन नभइ अदालत किन जानुभयो ? उहाँहरुको सत्ता स्वार्थ, नातागोता सेटिङ पहिलो हो तर एमालेलाई जनताको समृद्धि पहिलो हो’, ओलीले भने ।

ओलीले थपे, ‘चितवनको भरतपुरमा भोट माग्न गएका एक नेताले जनतालाई तर्साएछन्, जनता तर्साउने बानी अझै गएको रैनछ, मेरो छोरी नजिताए देश बिग्रने, छोरी जिताए २० वर्ष गठबन्धन टिकाउने घोषणा गरेछन्, गठबन्धन त्यो समयसम्म गए देशको अवस्था के होला ? हामीलाई देशको चिन्ता छ । नेपाली जनताले अब त्यो धम्की मान्नेवाला छैनन् ।’

त्यस्तै, उनले जनतालाई गठबन्धनका नेताहरु एवम् प्रधानमन्त्री समेत लागेर धम्क्याउँदा पनि निर्वाचन आयोग मुकदर्शक बनेको आरोप लगाएका छन् । ओलीले प्रश्न गरे, ‘गठबन्धनलाई जनताले चिन्दैनन्, त्यो लोभीपापीको बन्धन जहाँ गए जान्छ ? तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्नुछ, एमालेलाई पूर्ण बहुमत दिलाउनुस् । आयोगले अरुको झण्डा बोक्न पाइदैन भनेको छ देउवा, आरजु, प्रचण्ड, माधव नेपालले कसको झण्डा बोकेका छन् ? कहिले आउने हो यसको जवाफ ?’

उनले सुकुम्बासीको दीर्घकालीन समाधानका लागि विशेष योजना बनाएको बताए ।

‘यति लामो समय सरकारमा बसेको कांग्रेसले उदाहरण दिएर भन्नसक्ने कुनै काम गरेको छैन । ४२ वटा उद्योग बेचेर खायो बनाउने त कुरै छैन । हामीले सुकुम्बासीलाई पूर्जा दिन तयार हुँदा जबरजस्ता हटाइयो, गरिब र सुकुम्बासीको पार्टी होइन भनेर उनीहरु आफैंले भनेका छन्’, ओलीले भने ।

‘हाम्रो विकासको अभियानबाट छटपटाएर सरकार ढाल्ने खेलो सुरू भएको, एमाले सरकारबाट बाहिर आएपछि अर्थव्यवस्था कस्तो भयो भन्ने प्रष्ट भएको छ, अब एमालेको विजयमात्र होइन दिगविजय हुनुपर्दछ, अहिलेबाट नै हाम्रो विजययात्रा सुरु गरौं’, उनले भने ।