
काठमाडौँ, १९ वैशाख । काठमाडौँमा माओवादी छोड्नेहरुको लहर चलेको छ ।
यसै क्रममा माओवादी केन्द्र काठमाडौँ जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ ।
उनीहरुलाई सोमबार नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । ‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भने, ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म मालेतिर लागे । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आबद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’
उनले अहिले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केवश स्थापितको टिमलाई जिताउन हिँड्ने बताए ।
‘नेपालको वामआन्दोलनका लागि अब माओवादीको काम छैन,’ उहाँले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा अब नेकपा (एमाले) सँग आवद्ध भई निरन्तर लाग्ने प्रण गर्दछु ।’
‘केही समय उहाँहरु अलमलमा पर्नुभयो । अहिले मूलधारको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने पार्टीमा फर्किनुभएको छ, उहाँहरुलाई स्वागत छ,’ श्रेष्ठले भने, ‘एउटा परेवा गुँड छाडेर दिनभरी कतै डुल्न जान्छ र साँझ परेपछि गुँडमा फर्किन्छ भने त्यसलाई अन्त गयो भन्न मिल्दैन । उहाँहरु आफ्नै घर फर्किनुभयो, स्वागत छ ।’















प्रतिक्रिया