
धनकुटा, १३ वैशाख। धनकुटा जिल्लाका विभिन्न पालिकाहरूमा सत्ता गठबन्धनमा भाँडभैलो भएको छ। वडादेखि नै गठबन्धन आवद्ध दलहरूले बागी उम्मेदवार तय गरेका छन्।
गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल नमिलेको हो।
धनकुटा नगरपालिकाको प्रमुखमा कांग्रेसका दिनेश राईको उम्मेदवारीविरुद्ध गठबन्धनको जसपाका गोपाल लिम्बुले पनि सोही पदमा उम्मेदवारी दिएका छन्। उपप्रमुखमा माओवादीका गणेश विष्टको मनोनयन हुँदा जसपाका सारकुमारी आठपहरियाले पनि दिएकी छन्।
पाख्रीबास नगरपालिका प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङविरूद्ध नेकपा एकीकृत समाजवादीका गोपाल बराइलीले उम्मेदवारी दर्ता गराएका छन्। एकीकृत समाजवादीले पाख्रीवासको उपप्रमुखमा सावित्रा घिमिरेलाई उम्मेदवार बनाएको छ। माओवादीबाट प्रकाश निरौलाको पनि सोही पदमा उम्मेदवारी परेको छ।
सहिदभूमी गाउँपालिका अध्यक्षमा माओवादी र एकीकृत समाजवादीका उम्मेदवारी परेका छन्। माओवादीका भरत राईले उम्मेदवारी मनोनयन गर्दा एकीकृत समाजवादीका जेवी राईले पनि दिए। उपाध्यक्षमा कांग्रेसका तोर्णबहादुर खड्का र जसपाका बलेन्द्र राईको अलग अलग उम्मेदवारी परेको छ।
विभिन्न पालिकाका वडामा पनि गठबन्धनमा दोहोरो उम्मेदवारी परेको छ।











प्रतिक्रिया