
काठमाडौं, ८ वैशाख। सत्तारुढ गठबन्धनसँग महानगरपालिका र उपमहानगरपालिकामा भागवन्डा गरी अन्ततः यो यात्रालाई निरन्तरता दिने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ।
केन्द्रीय समितिमा बहुमतमा रहेका कारण अल्पमतको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालगायतले मञ्चहरूमा प्रश्न उठाइरहेका छन्। यस्तै नगर समिति र जिल्ला समितिहरूले माथि भएको निर्णयलाई नमान्ने घोषणा पनि गरिरहेका छन्।
तर कांग्रेसमा देउवानिकट रहेका गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको गठबन्धन गर्ने निर्णयको विरोधमा जानेलाई कारबाही गरिने पनि बताइरहेका छन्। कांग्रेस स्पष्ट रुपमा दुई खेमामा विभाजित भएको देखिन्छ। देउवा पक्षधर भने यस विषयमा मौन बसिरहेका छन्।
देउवाको यो निर्णय कम्युनिस्टहरूको गठबन्धन बन्ने खतरासँग जोडिएको बताइए पनि कांग्रेसले ३६ लाख नयाँ मतदातामा विश्वास पैदा गर्ने अवसर गुमाएको टिप्पणी पनि भइरहेको छ।
कांग्रेसका महान् नेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालासँग नजिक रहेर काम गरेका देउवाले किन यसो गरे? भन्ने एकातिर चासो छ भने अर्कातिर उनै वीपीको एउटा उक्ति सामाजिक सञ्जालमा राख्दै कांग्रेस कार्यकर्ताले स्वाभिमानको पक्षमा आवाज उठाउन थालेका छन्।
वीपीको ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ताहरू यात त चरम अवसरवादी हुन् या त दास हुन्’ भन्ने उक्ति अहिले ट्रेन्डिङ जस्तो हुन थालेको छ।
गठबन्धनसँग रुष्ट कांग्रेसका नेता कार्यकर्ताले उक्त उक्तिलाई शेयर गर्दै देउवाको आलोचना गरेका छन् भने निर्णय मान्न बाध्यकारी नभएको पनि सन्देश दिएका छन्।











प्रतिक्रिया