११ कार्तिक २०८३, बुधबार

उपमहासचिव गुरूङको प्रश्नः एमालेले धेरै काम गरेको छ तर जनतालाई थाहा दिएको खोई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ५ वैशाख । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एमालेले धेरै राम्रा काम गरेको भए पनि प्रचार नभएको बताएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली एमालेको नारा हो, नारामा भनिएजस्तो काम भएको छ कि छैन भनेर जनताले कसरी थाहा पाउने ? जनतालाई त्यसबारेमा थाहा दिने भनेको प्रचार कार्यकर्ताले हो,’ उनले, ‘एमालेले धेरै काम गरेको छ तर जनतालाई थाहा दिएको खोई ?’ भनी प्रश्न गरे ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजित प्रचार भेलालाई सम्बोधन गर्दै उनले पार्टीविरूद्धका भ्रामक प्रचारहरूको खण्डन गर्दै जनतालाई सही सूचना दिनुपर्ने बताए ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको व्यापक प्रचारप्रसार गर्न पनि निर्देशन दिएका छन् ।

पार्टी र मतदाताहरूको पुलको रूपमा प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

एमालेविरूद्ध चौतर्फी घेराबन्दी र भ्रामक प्रचार भइरहँदा पनि प्रेस चौतारीले त्यसको खण्डन गर्न नसकेको गुरूङको भनाई थियो ।

उनले अब एमालेविरुद्धका भ्रामक प्रचारलाई रोक्ने गरी लाग्न निर्देशन दिए ।

एमालेको संगठन र कार्यशैलीप्रति अरू राजनीतिक दल र संघ÷संगठनहरूले समेत ईर्श्या गर्ने गरेको उल्लेख गर्दै गुरूङले एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने बताए ।

‘अहिलेको जमाना प्रचारको जमाना हो, अहिलेको जमाना बोल्न जान्नेको पिठो बिक्ने र बोल्न नजान्नेको चामल पनि नबिक्ने जमाना हो, प्रचार नहुँदा एमालेको बासमतीको चामल पनि बिकेको छैन यहाँ सडेको पिठो बिक्री गरिरहेका छन्,’ गुरूङले भने ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटब्युरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे लगायतले निर्वाचनको बेला प्रचारको कामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरूको सहभागिता रहेको प्रचार भेलाले ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।