११ कार्तिक २०८३, बुधबार

माओबारे गरेको मजाकमा एम्बाप्पेले मागे माफी, चिनियाँ ब्रान्डले तोडे सम्बन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्स तथा रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेको एउटा टिप्पणीले चीनमा विवाद चर्किएपछि उनले सार्वजनिक रूपमा माफी मागेका छन्। विवाद बढेसँगै चिनियाँ कम्पनीहरूले उनीसँगको व्यावसायिक सहकार्यसमेत अन्त्य गरेका छन्।

फ्रेन्च टक शो ‘द ब्रिज’ का लागि गरिएको कुराकानीका क्रममा एम्बाप्पेले आफूलाई रमाइलो लाग्ने इन्टरनेट मिमबारे चर्चा गरेका थिए। त्यस क्रममा आफ्नो अनुहार पूर्वचिनियाँ नेता माओत्से तुङको तस्बिरमा जोडिएको मिमलाई ‘चिनियाँ तानाशाह’सँग सम्बन्धित भन्दै उल्लेख गरेपछि उनको अभिव्यक्ति विवादमा परेको हो।

भिडियो चिनियाँ सामाजिक सञ्जालमा फैलिएपछि एम्बाप्पेको चर्को आलोचना भयो। त्यसको केही समयमै ऊर्जा पेय कम्पनी डोङपेङ, दुग्ध उत्पादक मेङ्निउ र चिज उत्पादक मिल्कग्राउन्डले उनीसँगका सम्झौता अन्त्य गर्ने घोषणा गरे।

विवाद बढेपछि एम्बाप्पेले आफ्नो टिप्पणी गलत ढंगले प्रस्तुत भएको स्वीकार गर्दै चीन र विश्वभर रहेका चिनियाँ समुदायका मानिसको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गरेका छन्।

उनले आफूले कसैलाई अपमान गर्ने उद्देश्य नराखेको र चिनियाँ जनता तथा उनीहरूको इतिहासप्रति गहिरो सम्मान रहेको बताएका छन्।

घटनाप्रति चीनको फुटबल संघले पनि आपत्ति जनाउँदै एम्बाप्पे र रियल मड्रिड दुवैबाट औपचारिक सार्वजनिक माफी मागेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित संस्थाले स्पेनिस ला लिगाका खेलको प्रसारण रोक्ने तथा एम्बाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने कदमसमेत चालेका छन्।

चीनमा माओत्से तुङ अझै पनि अत्यन्त संवेदनशील ऐतिहासिक व्यक्तित्वका रूपमा हेरिन्छन्। उनका शासनकालका ‘ग्रेट लिप फरवार्ड’ लगायतका अभियानसँग ठूलो मानवीय क्षति र भोकमरी जोडिएको भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई आधुनिक चीन निर्माणका प्रमुख ऐतिहासिक व्यक्तित्वमध्ये एकका रूपमा प्रस्तुत गर्दै आएको छ।

यसै कारण माओलाई लिएर गरिने सार्वजनिक व्यङ्ग्य वा टिप्पणी चीनमा सामान्य विषयभन्दा बढी संवेदनशील बन्ने गरेको छ। एम्बाप्पेको पछिल्लो प्रकरण पनि यही संवेदनशीलताको चपेटामा परेको देखिएको छ।

चीनमा एम्बाप्पेको लोकप्रियता र व्यावसायिक उपस्थिति निकै ठूलो थियो। विश्वकपअघि डोङपेङसहितका कम्पनीका विज्ञापनमा उनी व्यापक रूपमा देखिएका थिए। त्यसैले विवादपछि ठूला ब्रान्डले सम्झौता तोड्नु उनका लागि व्यावसायिक रूपमा पनि ठूलो झट्का मानिएको छ।