
काठमाडौं, ४ वैशाख । आगामी वैशाखमा हुने स्थानी तह निर्वाचनका लागि बलियो तालमलेल गर्ने उद्घोष गरेका सत्ताधारी दलहरूबीचको गठबन्धन दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
तालमेल र सत्ता गठबन्धनसमेत कमजोर बन्दै गएपछि यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारेमा छलफल गर्न सरकारमा सहभागी दलहरूको बैठक आज बस्ने तयारी भएको छ ।
यद्यपि समय भने टुङ्गो नलागेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आज छलफल गरेर निर्णयमा पुग्ने तयारी भए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण समय अझैँ निश्चित नभएको जानकारी दिए ।
सत्ता बठबन्धन दलबीच चुनावमा तालमेल गरेर जाने भन्नेमा यसअघि निर्णय भए पनि कुन स्वरुपको तालमेल गर्ने भन्नेमा अहिलेसम्म पनि सहमति जुटेको छैन ।
नेपाली कांग्रेसभित्र असहमति रहँदारहँदै चुनावी तालमेलको निर्णय लिइएका कारण पनि तालमेल कमजोर बन्ने स्थिति आएको छ । पछिल्लो केही दिनयता दलका नेताहरूले कोही भन्दा कोही दल कमजोर नरहेको तर्कका साथ परिआए एक्लाएक्लै पनि चुनाव लड्ने अभिव्यक्ति दिन थालेसँगै तालमेल कमजोर बन्दै गएको आभाष भेटिन्छ ।
सत्ताधारी दलहरूबीच पनि एकअर्कालाई घोचपेचका शैलीले नेताहरू प्रस्तुत हुन थालेपछि सत्ता गठबन्धन समेत टुट्ने स्थिति आउने देखिएको छ ।















प्रतिक्रिया