
तनहुँ, ४ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोबिन्दराज जोशी समूह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको छ ।
काँग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई बेवास्ता गरिएपछि जोशी समुहले एमालेसँग तालमेल गरेको बताएको छ । तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमती समेत भएको जोशी समूहले जानकारी दिएको छ ।
जोशी निवास दमौलीमा हिजो शनिबार भएको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताइएको छ । छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ ।
जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ ।
तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरे पनि एकलौटी ढंगले अघि बढेकाले एमालेसँग चुनावी तालमेल गर्नु परेको नेपाली कांग्रेसका नेता गोबिन्दराज जोशीले जानकारी दिए ।
१९ वर्षदेखि सत्ताबाहिर रहेका जोशी विकासवादी नेताका रुपमा जिल्लामा सूपरिचित छन् । उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तीकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको स्थानीय बताउँछन् ।















प्रतिक्रिया