६ कार्तिक २०८३, शुक्रबार

नागार्जुन नगरपालिकाको मेयरमा राजन कोइरालाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा कोइरालाले कसैको निन्दा वा विरोध गर्न भन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताएका छन् ।

उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्देश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाले उम्मेदवारी घोषणा गरेको बताए । ‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्धता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भने, ‘अब पनि देश विकासको पद्धतिमा परिवर्तन भएन भने हामी ठूलो दलदलमा फस्नेछौ, नेपाल अहिलेको श्रीलंकाको अवस्थामा नपुग्ला भन्न सकिन्न ।’

नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने उनको प्रतिबद्धता छ । ‘हाम्रो लडाई कुनै राजनीतिक दलसँग होइन प्रणालीको लागि हो । युवाहरुलाई रोजगारी दिन पर्यो । अरु कुरा चाहिएको होइन् ।’

नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने पनि आफ्नो चुनावी घोषणापत्रमा समेटिएको कोइरालाले स्पष्ट पारे । नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको बताएका छन् ।

उनले आफू नगरपालिकाको प्रमुखमा निर्वाचित भएमा नगरपालिकामा प्राविधिक शिक्षा र व्यावसायिक तालिम केन्द्रको स्थापनामा जोड दिने स्पष्ट पारे । उनले बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्द्धन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।