
बर्दिया, २३ चैत । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको प्रथम केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
बर्दियाको गुलरियामा आयोजना हुने सङ्गठनको प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत २४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनको प्रचार–प्रसारका लागि नेपाल भूमिहीन सुकुम्बासी संगठन बर्दिया भूमिहीन सुकुम्बासीहरुको घरदैलोमा पुगेको छ । जिल्लामा रहेका भुमिहीन सुकुम्बासीहरुको बाहुल्यता रहेको गाउँ र फाँटाहरुमा निमन्त्रणा कार्ड पठाइएको छ ।
भूमिहीन र सुकुम्बासीहरुको व्याप्त समस्या रहेको बर्दिया जिल्लामा उनीहरुको सवाललाई उठान गर्नका लागि बर्दिया जिल्लामा नै प्रथम महाधिवेशन आयोजना गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मुल समितिका संयोजक लक्ष्मणराज ज्ञावलीले बताए ।
महाधिवेशन उद्घाटनका लागि अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि नेकपा एमाले जिल्ला कमिटी बर्दियाले तयारीलाई तीव्र बनाएको छ । अधिवेशनलाई सफल बनाउन गठित विभिन्न समिति र उपसमितिले पनि आ–आफ्नो कार्यलाई अगाडि बढाएको नेकपा एमालेका जिल्ला सचिव पदम ढकालको भनाई छ ।
अधिवेशनमा १५ हजार जना बढी सहभागी हुने नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्लाका इन्चार्ज ज्ञावलीले दाबी गर्नुभयो । देशभरबाट नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनका ६०० जना प्रतिनिधिहरुको उपस्थिति रहने इन्चार्ज ज्ञावलीले बताए ।
साथै सोही दिन विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको उनले बताउनु भयो । महाधिवेशन उद्घाटन सभा गुलरिया स्थित आँप बगियामा हुने छ । -यज्ञप्रसाद सापकोटा















प्रतिक्रिया