
बागलुङ, २२ चैत । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना तथा बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको समन्वयमा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयक लघु गोष्ठी सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जस्सी (अञ्जु)ले गरेकी थिइन् । सो अवसरमा उनले सहकारी क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधानका लागि सिङ्गो अभियान एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् । सदस्यहरूलाई समस्याका बारेमा जानकारी गराउने र उनीहरूलाई समाधानमा सहयोगी बनाउन सक्ने हो भने सहकारीमा आउन सक्ने समस्यालाई सहज रूपमा समाधान गर्न सकिनेमा उनको भनाइ छ ।

कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसीले सहजीकरण गरेका थिए । उनले सहकारी क्षेत्रमा आउन सक्ने वित्तीय जोखिम न्यूनीकरणका लागि सहकारीको रकम सहकारीमै राख्ने विषयमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरले सहकारीमा हुन सक्ने जोखिमको पहिचान गरेर योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिए ।
त्यस्तै राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठीको अध्यक्षता, बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारीको सञ्चालन र सचिव ताराप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रवन्धकहरूको सहभागिता थियो ।















प्रतिक्रिया