६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले २०७८ कात्तिक १० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वार लाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।

बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएको छ ।

सो बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको छ ।

उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूको सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ ।

साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।

बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।