६ कार्तिक २०८३, शुक्रबार

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ भोलि शनिबारदेखि शुरू हुने भएको छ ।

एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मध्याह्न १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विद्युतको आन्तरिक बजारलाई प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन नेपाल सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको र्याली काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुने छ ।

एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आईएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेको छ । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेको जानकारी दिइएको छ ।

साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग रहेको छ । एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

‘क्रियटिङ मार्केट्स फर नेपाल्स हाइड्रोपावर’ नाराका साथ आयोजना गर्न लागिएको एक्स्पोले नेपालमा उत्पादति बिजुलीको खपत वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने विश्वास आयोजकले लिएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया सञ्चालन गरिने पनि इपानले जानकारी दिएको छ ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरुलगायत १०० वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत रहेका छन् ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।