६ कार्तिक २०८३, शुक्रबार

जिल्ला सहकारी संघ म्याग्दीले बनायो चार वर्षे रणनीतिक योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १८ चैत । जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले चार वर्षे रणनीतिक योजना निर्माण गरेको छ ।

संघले आगामी चार वर्षसम्मका लािग रणनीतिक व्यावसायिक योजना निर्माण गरी संघका सम्पूर्ण गतिविधिहरू यसै योजना अनुरूप सञ्चालन गर्ने लक्ष्य लिएको संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक कार्की) ले जानकारी दिए ।

सवल, गतिशील र नेतृत्वदायी जिल्ला सहकारी संघ भन्ने परिकल्पनाका साथ रणनीतिक योजना निर्माण गरिएको र संघको अबको सम्पूर्ण ध्यान रणनीतिक योजना अनुसार संघको संस्थागत विकास र सदस्य संघ संस्थाहरूको प्रवर्द्धनका काम गरिने अध्यक्ष कार्कीको भनाइ छ । सहकारी संघ संस्थामा सक्षमता र सुशासन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने ध्येयका साथ संघले आगामी चार वर्षका कार्यक्रमहरू अगाडि बढाउने गरी योजना निर्माण गरेको छ ।

रणनीतिक योजना निर्माण कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जीसी(अञ्जु) ले गरेकी थिइन् । सो अवसरमा उनले स्पष्ट योजनाका साथ कार्यक्षेत्रमा लाग्ने हो भने सबै सहकारीले लिएको लक्ष्य पूरा हुने र सहकारी अभियानको प्रभावकारीता बढ्ने धारणा व्यक्त गरिन् ।

राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोगमा सञ्चालन भएको रणनीतिक योजना निर्माण तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक राम बहादुर जीसीले योजना बनाउने मात्र नभएर यसको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए । विना योजना संघ संस्थालाई व्यवस्थित रूपमा अगाडि बढाउन नसकिने भन्दै उनले योजना निर्माण गर्ने र सोही योजनाका आधारमा नियमित रूपमा गतिविधि गर्ने हो भने संघ संस्थाको लक्ष्य पूरा हुने बताए ।

कार्यक्रम संघका अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सञ्चालक तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । – रोहन जीसी