१३ कार्तिक २०८३, शुक्रबार

विराट राजवंशी महोत्सव उद्घाटन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ चैत । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘विराट राजवंशी महोत्सव मेला–२०७८’ को आज एक समारोहको बीच उद्घाटन गर्नुभयो ।

विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा, संस्कृति संरक्षणका लागि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला–२०७८’ को आयोजना भएको हो । विराट राजवंशी प्रगतिशील समाज विकास समिति विराटनगरले गरेको मेला चैत १५ गतेसम्म लाग्नेछ । महोत्सवमा राजवंशी समुदायको मौलिक खानपान, वेषभूषा र संस्कृतिक प्रदर्शन गरिनेछ ।

महानगरपालिकाका प्रमुख पराजुलीले राजवंशी समुदायलाई शिक्षा र राजनीतिक क्षेत्रमा राज्यले पछाडि पारेको प्रसङ्ग उल्लेख गर्दै अहिले यो समुदाय विस्तारै जुर्मुराएर उठ्न थालेको बताउनुभयो । उहाँले कुनै एक जात र समुदायलाई पछाडि पारेर देशमा कहिले पनि समृद्धि नआउने भन्दै राज्यले यस्ता समुदायलाई उकास्न गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रूपमा राजवंशीको संस्कृतिलाई रक्षा एवं जगेर्ना गर्ने दायित्व अब युवाहरुको काँधमा आएको चर्चा गर्नुभयो । उहाँले कोरोनाकालमा समाज शिथिल बनेको र यस्ता क्रियाकलापले समाजमा गतिशीलता आउने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवस्थलमा समुदायका मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रदर्शनीका लागि ६० वटा स्टल रहने बताइएको छ ।

महोत्सवमा चर्चित गायक कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समाजका सचिव गोपी राजवंशीले बताउनुभयो । महोत्वसवका लागि जनस्तरबाट रु ३० लाख सहयोग सङ्कलन भएको बताइएको छ ।–रासस