काठमाडौँ, १६ जेठ । साहित्यकार चन्द्रप्रसाद भट्टराईद्वारा लिखित ‘अनौठो मुलुकको अनौठो अनुभूति’ शीर्षक नियात्रा कृतिको बिहीबार विमोचन गरिएको छ ।
भट्टराईले एसिया प्रशान्त क्षेत्रीय देश पपुआ न्यु गिनीको अर्थ मन्त्रालयमा चार वर्षसम्म सल्लाहकारका रुपमा रहँदाको अनुभव र अनुभूति समेटेर सो कृति तयार गर्नुभएको हो । कृति उत्कृष्ट प्रकाशन प्रालिको पहिलो प्रकाशन हो । कृतिमा सो देशको भाषा, संस्कृति, खानपिन, रीतिस्थिति, संस्कार, प्राकृतिक सम्पदा, ज्वालामुखी, त्यहाँका व्यक्तित्व, थोेरै नेपालीहरुसँगको भेटघाट आदिबारे चित्रण गरिएको छ । त्यहाँ सन् १९५९पूर्वसम्म मान्छेले मान्छेको मासु खाने चलन थियो ।
वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले कृति विमोचन गर्दै पुस्तक नेपाली साहित्यको बेजोड नमुना र सङ्ग्रह गर्नलायक तथा त्यसको भाषा, शैली र विषयवस्तु अत्यन्त सहज भएको बताउनुभयो ।
प्रा राजेन्द्र सुवेदी, प्रा डा खगेन्द्रप्रसाद लुइँटेल र प्राचार्य दुर्गाप्रसाद नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पपुआ न्यु गिनी र नेपालको पीडा, उज्यालो र अँध्यारो पक्षलाई कलात्मक र रोचक शैलीमा कृतिमा प्रस्तुत गरिएको छ भन्नुभयो ।
प्रकाशन प्रालिका अध्यक्ष हरिप्रसाद रिमालले नेपाली साहित्य र वाङ्मयमा लेखिएका उत्कृष्ट कृतिको प्रकाशन गर्ने उद्देश्यले प्रकाशन प्रालिको स्थापना गरिएको जानकारी दिँदै सङ्ख्यामा भन्दा गुणस्तरमा जोड दिइने बताउनुभयो । लेखक भट्टराईले आफू थोरै लेख्ने तर राम्रो लेख्ने मान्यतामा रहेको विचार व्यक्त गर्नुभयो ।
नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष समेत रहनुभएका भट्टराई(विराटनगर–१५, नहरपारि) अहिले नेपालको विकास अर्थशास्त्रमा अध्ययन, अनुसन्धान र परामर्शमा सङ्लग्न हुनुहुन्छ । उहाँका ‘सहयात्रा’ शीर्षक कथासङ्ग्रह(२०५९) र ‘प्रशान्तका छालहरुमा मेरो नेपाल’(२०६१) शीर्षक नियात्रा कृति प्रकाशित हुुनाका साथै उहाँले केही कृति सम्पादनसमेत गर्नुभएको छ ।













प्रतिक्रिया