३ कार्तिक २०८३, मंगलबार

रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, ३० फागुन । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ ।

रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । सोही सहायता मागेको पत्तो पाएको आमेरिकाले चीनलाई यस्तो चेतावनी दिएको हो ।

तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन् ।

आज सोमबार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन् । फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो ।

तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ ।

तर, वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएको समाचारमा उल्लेख छ । उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताएका छन् ।

हालसम्म चीनले रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर, उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।

रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।