६ कार्तिक २०८३, शुक्रबार

सहकारीमा युवा र महिलाको सहभागिता बढाऔं : महासंघ सञ्चालक जिसी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ फागुन । राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको प्रभावकारी सञ्चालनका लागि युवा र महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिएकी छिन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बुधवार आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएकी हुन् ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकी जिसीले संविधान तथा कानुनमा उल्लेख गरेर मात्रै महिला र युवाको सहभागिता नहुने भन्दै व्यवहारमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सहकारीमा आवद्ध महिलाहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै सहभागिताका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिइन् । महिला तथा युवाको क्षमता अभिवृद्धिका साथै सहकारीको प्रभावकारी सञ्चालनमा समेत सहकारी संघ संस्थाले ध्यान पु¥याउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवा तथा महिलाहरुलाई सहकारीमा आवद्ध गराउँदै उनीहरुको क्षमता विकास, नेतृत्व विकाससंगै आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान गर्ने गरी सहकारी अभियानकर्मीहरुले काम गर्न आवश्यक रहेको बताए । ‘सहकारी समाज रुपान्तरणको महत्वपूर्ण पाटो हो, यसको भूमिकालाई बढाउनका लागि युवा र महिलाहरुको भूमिका बढाउन आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी र कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपकजंग राजभण्डारीले सहकारी व्यवस्थापन, सहकारीमा युवा तथा महिलाको सहभागिता विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा बागलुङ बजारमा सञ्चालित विभिन्न सहकारी संघ संस्थामा कार्यरत ४० जना महिला कर्मचारीहरुको सहभागिता थियो । – रोहन जि.सी.बाट