३ कार्तिक २०८३, मंगलबार

रुसबाट इन्धन आयात नगर्ने अमेरिका र बेलायतको घोषणा, प्रतिबन्धले इन्धन संकट हुने प्रक्षेपण

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, २५ फागुन । अमेरिका र बेलायतले रुसबाट इन्धन आयात नगर्ने घोषणा गरेका छन् ।

अमेरिका र बेलायतले रुसी इन्धन (पेट्रोलियम पदार्थ) माथि प्रतिबन्ध लगाउने र फेज आउट गर्ने घोषणा गरेका हुन् । यस्तै युरोपियन युनियनले रुसी ग्यास इन्धनमा रहँदै आएको निर्भरता अन्त्य गर्ने जनाएको छ ।

युक्रेनमाथि गरेको आक्रमणको जवाफमा पश्चिमा राष्ट्रहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । इन्धनमाथिको प्रतिबन्ध त्यसकै पछिल्लो कडी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसी इन्धनको आयात प्रतिबन्ध घोषणा गर्दै रुसको अर्थतन्त्रको प्रमुख धमनीलाई निशाना बनाएको बताए ।

इन्धन निर्यात रुसको प्रमुख आयश्रोतको माध्यम हो । तर रुसी इन्धनमाथिको प्रतिबन्धको नकारात्मक प्रभाव पश्चिमा राष्ट्रका उपभोक्तालाई पनि पर्छ । रुसको अर्थतन्त्र प्रमुख रुपमा इन्धन व्यापारमा निर्भर छ । साउदी अरेबिया र अमेरिकापछि रुस विश्वमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो ।

अमेरिकासहितका पश्चिमा देशले आफ्नो देशमा उत्पादित इन्धनमाथि प्रतिबन्ध लगाउनेबारे चर्चा गरिहँदा नै रुसले त्यसको गम्भीर प्रभाव भोग्नु पर्ने चेतावनी दिएको थियो । उसले जर्मनमा रहेको आफ्नो प्रमुख इन्धन पाइपलाइन नै बन्द गर्न सक्ने चेतावनी पनि दिएको थियो ।

रुसी इन्धन आयातमा प्रतिबन्ध नलाग्दै युक्रेन युद्धले अमेरिका, बेलायतसहित विश्वका धेरै देशमा पेट्रोलको मूल्य उच्च बनाएको छ । तर रुसलाई रोक्नका लागि डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीले अमेरिकी राष्ट्रपतिलाई थप कदम चाल्न आग्रह गर्दै आएका थिए । त्यसकै परिणाम स्वरुप रुसी इन्धनमा उनले प्रतिबन्धको घोषणा गरेका हुन् ।

बाइडेनले रुसी इन्धन प्रतिबन्धित गर्दा आफूहरुलाई पनि समस्या पर्ने स्वीकार गरेका छन् । इन्धनको मूल्य थप बढ्ने अनुमान छ । साझेदारहरुसँगको छलफलमा प्रतिबन्धको निर्णय गरिएको उनले उल्लेख गरे ।

यस्तै बेलायतले पनि रुसी तेलको आयात सन् २०२२ को अन्त्यसम्ममा पूर्णरुपमा बन्द गर्ने जनाएको छ । अमेरिकाले जस्तो बेलायतले तत्काल लागु हुने गरी निर्णय गरेको भने होइन । उसले क्रमिक रुपमा प्रतिबन्ध लगाउँदै यो वर्षको अन्त्यसम्ममा पूर्ण प्रतिबन्धमा जाने बताएको हो । एजेन्सी