३ कार्तिक २०८३, मंगलबार

युक्रेन–रुस युद्धः नो फ्लाई जोनले ‘तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने’ अमेरिकाको चेतावनी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, २३ फागुन । युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ ।

एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन् । सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ ‘तेस्रो विश्वयुद्धको शुरूवात’ हुने सीएनएन टेलिभिजनसँग भने ।

‘नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ । त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ । त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नु हुनेछ,’ उनले थपे ।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे ।

तर वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए । ‘वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ,’ उनले थपे ।

पछिल्लो समय युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ । रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ ।

गोलाबारीमा सर्वसाधारण मारिने क्रम पनि बढ्दो छ । आइतबार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन् ।

घटना सम्बन्धमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन् ।

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतबार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन् । बीबीसी