
काठमाडौँ, १६ फागुन । नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईले एमसीसी कसरी राष्ट्रहितमा भयो भनि प्रश्न गरेका छन् ।
उनले एकीकृत समाजवादीले आफ्नो पूर्वनिर्धारित धारणा विपरीत संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न भूमिका खेलेकामा आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
हलुवाईले सोमबार एक विज्ञप्ति जारी गर्दै आफैँ राष्ट्रघाती भनिएको सम्झौता रातारात कसरी राष्ट्र हितमा भयो भनि प्रश्न गरेका हुन् ।
‘आफैँ राष्ट्रघाती भनेको सम्झौता रातारात राष्ट्रहितमा कसरी भयो ?’ भनी विज्ञप्तिमा उनले प्रश्न गरेका छन् ।
‘सत्ता स्वार्थका लागि गरेको यस खालको भूमिकाले जनतासामु यस पार्टीका तर्फबाट मुख देखाउन लायक नरहेको अनुभूति हामी देशभरिका कार्यकर्ताहरुले गरिरहेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
उनले गठबन्धन, सत्ता, सभामुख र १४ जना सांसदहरु टिकाउन एमसीसी अनुमोदन गरिनु खेदजनक रहेको उल्लेख गरेका छन् ।













प्रतिक्रिया