१३ कार्तिक २०८३, शुक्रबार

माओवादीले भन्यो-‘सत्तारुढ दलले संविधान बनाउन नदिएर जनतालाई निरास पारे’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौँ, ६ वैशाख । संविधान निर्माण प्रक्रियाले गति लिन नसक्दा आम जनतामा निरासा फैलिएको भन्दै तत्काल सहमति निर्माण गर्न एकीकृत नेकपा (माओवादी) ले सत्तारुढ दललाई आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको एमाओवादी पदाधिकारीको बैठकले पछिल्लो दिनमा दलहरुबीच औपचारिक संवाद हुन नसकेको, विवादित विषयमा सहमति हुन नसकेको ठहर गर्दै सहमतिका आधारमा संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने वातावरण तयार पार्न सत्तारुढ दललाई आग्रह गरेको हो ।

नेपाली काँग्रेस, नेकपा (एमाले) को आज बसेको बैठकले एमाओवादीसँग अन्तिम पटक संवाद गर्ने निर्णय लगत्तै सो दलको सो धारणा आएको हो । एमाओवादीले संविधान लेखन प्रक्रिया अगाडि बढाउन र औपचारिक संवादको वातावरण तयार पार्न र निरन्तर छलफल गर्न आफूहरु तयार रहेको भन्दै सत्तारुढ दल पनि सोही आधारमा तयार हुनुपर्नेमा जोड दिएको हो ।

आजको बैठकमा प्रमुख राजनीतिक दलका बीचमा जारी अनौपचारिक संवादमा भएका प्रगतिका बारेमा महासचिव कृष्णबहादुर महराले जानकारी गराउनुभएको थियो । एमाओवादीले महासचिव महराको नेतृत्वमा सचिवद्वय वर्षमान पुन र टोपबहादुर रायमाझी सदस्य रहेको अनौपचारिक वार्ता टोली गठन गरेको थियो । सो टोलीले काँग्रेस, एमालेसँग अनौपचारिक रुपमा पटक–पटक संवाद गरेको थियो ।

प्रमुख राजनीतिक दलको दोस्रो तहको नेताहरुको बीचमा भएको अनौपचारिक संवादमा विवादित विषय सहमतिको नजिक पुगेको बताइएको छ । दोस्रो तहका नेताहरुबीच विवादित विषय सहमति नजिक पुगे पनि उक्त सहमति शीर्ष नेताको बैठकमा पेस हुन नसक्दा संविधान लेखनको काम अवरुद्ध हुँदै आएको छ ।

महासचिव महराले काँग्रेस, एमालेमा पनि सहमतिका लागि दबाब परेको भए पनि औपचारिक बैठक बस्न नसकेको र सहमतिलाई अन्तिम रुप दिन नसकिएको जानकारी गराउनुभएको एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

दलहरुमा आन्तरिक रुपमा दबाब परेको भए पनि ठोस निर्णय हुन नसक्दा जनतामा निरासा पैदा भएको भन्दै तत्काल औपचारिक बैठक बसेर सहमतिलाई सूत्रबद्ध गर्नुपर्ने र संविधान लेखनको कामलाई पूर्णता प्रदान गर्नुपर्नेमा छलफल केन्द्रित रहेको उहाँको भनाइ छ ।

काँग्रेस सहमतिका लागि तयार भए पनि एमाले अझै पनि प्रक्रिया भन्दै मुलुकलाई द्वन्द्वमा लैजान चाहिरहेको निष्कर्ष निकाल्दै एमाओवादीले द्विपक्षीय तथा बहुपक्षीय छलफललाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले तत्काल सहमति जुटाउन राजनीतिक दलहरुलाई आग्रह गरिसक्नुभएको सन्दर्भमा एमाओवादीले पुनः संवादमा जोड दिएको हो ।

यसैगरी, एमाओवादीको आजको बैठकले मौसमी फ्लूका कारण तीन हजारभन्दा बढी नागरिक बिरामी भएको र २५ जनाको निधन भइसक्दा पनि सरकारले पीडितको उपचारमा ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेको छ । मौसमी फ्लूमा परेका स्थानीयलाई स्वास्थ्य जनचेतना दिन र उपचारमा सहयोग गर्न जिल्ला नेतृत्वलाई निर्देशनसमेत दिएको छ । यस्तै पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको गजुरेलले जानकारी दिनुभयो । रासस