काठमाडौं, ६ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित सभासद् चम्पा खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
संविधानसभा सचिवालय सिंहदरबारमा आइतबार आयोजित एक कार्यक्रममा सभाध्यक्ष नेम्वाङले उहाँलाई सो शपथ खुवाउनुभएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
संविधानसभा उपनिर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं १ बाट गत चैत २८ गते नेपाली काँग्रेसका तर्फबाट खड्का संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
सो समारोहमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सभासद् खड्काको परिवारजनलगायतको उपस्थिति रहेको थियो ।
पद तथा गोपनीयताको शपथपछि सभासद् खड्काले संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आफूले सकेको सहयोग गर्ने र आफ्ना पति हरिबहादुर खड्काको सपना पूरा गर्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो । सवारी दुर्घटनामा हरिबहादुर खड्काको निधन भएपछि सो पद रिक्त भएको थियो ।












प्रतिक्रिया