१३ कार्तिक २०८३, शुक्रबार

थप नौ सडक आयोजना अगाडि बढाइने, यस्तो हुँदैछ त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road

रमेश लम्साल

काठमाडौँ, ५ वैशाख । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नौवटा सडक आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

काठमाडौँ उपत्यकाभित्र हाल निर्माणका क्रममा रहेका आयोजनालाई पूरा गर्दै थप व्यवस्थित गर्ने लक्ष्यका साथ ती सडकको निर्माण सुरु गर्न लागिएको हो ।

ती सडकमा चाबहिल–जोरपाटी साँखु सडक (१२ किलोमिटर), जोरपाटी सुन्दरीजल (छ किलोमिटर), काठमाडौँ महानगरपािलका नयाँबजार पुलदेखि चक्रपथ मार्ग दुवैतर्फ दुई किलोमिटर, सीतापाइला रामकोट–भीमढुङ्गा (५ किलोमिटर), विष्णुमती पुल–टोखाबजारसम्म (एक किलोमिटर), सामाखुसी खोला हुँदै चक्रपथ सुन्दरमार्ग (१५ किलोमिटर), टोखाबजार चण्डेश्वरी मन्दिर (दुई किलोमिटर), कीर्तिपुर ल्यावरेटरी विद्यालय (डेढ किलोमिटर) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा (१२ किलोमिटर) रहेका छन् ।

प्रस्तावित यी आयोजना पूरा भएपछि हाल काठमाडौँ उपत्यकामा जारी सडक विस्तार अभियानले अर्को चरणमा प्रवेश गर्नेछ । सडक विभागले उक्त नौवटा आयोजनालाई चालु आर्थिक वर्षभित्रैबाट सुरु गर्ने लक्ष्य राखेको छ ।

विभागका महानिर्देशक माधव कार्कीले ती आयोजनालाई पूरा गर्न सकिएको खण्डमा हाल विस्तारित सडकको समेत थप औचित्य पूरा हुने बताउनुभयो ।

त्यसमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई बढी महत्व दिइएको छ । काठमाडौँ उपत्यका सडक सुधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर प्रभातकुमार झाले काठमाडौँ प्रवेश गर्ने नाका नै साँघुरो भएका कारण विस्तार गर्ने लक्ष्य राखिएको हो ।

भक्तपुर–साँगा सडक पनि विस्तारका क्रममा रहेको विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय साझेदारले सो आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरिरहेका सन्दर्भमा हालको महत्वपूर्ण नाकाका रूपमा रहेको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई प्रमुख प्राथमिकतामा राखिएको आयोजना प्रमुख झाको भनाइ छ । सो सडक विस्तार गर्दा करिब दुई हजारभन्दा बढी सडक किनारका घर उठाउनुपर्ने देखिन्छ ।

राजमार्गको सीमा तय हुनुभन्दा पहिले निर्माण भएका घरलाई क्षतिपूर्ति दिने तर सडक सीमा मिचेका कोही कसैलाई पनि त्यसखालको सुविधा नदिइने सडक विभागका महानिर्देशक कार्कीको भनाइ छ ।

सडक सीमाको पूर्व व्यवस्थाअनुसार राजमार्गको दायाँ–बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सीमा तय गरिएको छ । नागढुङ्गा नौबिसे सडक खण्डमा जापान सरकारको सहयोगमा सुरुङमार्ग निर्माणको प्रक्रिया अगाडि बढिरहेकाले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकलाई थप विस्तार गर्नुपर्ने आवश्यकता देखिएको आयोजना प्रमुख झा बताउनुहुन्छ ।

हाल अध्ययन र सडक सीमा तय गर्ने काम सुरु भएकाले लागतबारे अहिल्यै केही भन्न नसकिने उहाँको भनाइ छ । सडक विस्तार अभियान निरन्तर रूपमा अगाडि बढे पनि एकीकृत गुरुयोजनाको अभावमा आगामी दिनमा गर्ने निर्माण पनि प्रभावकारी नहुने र हालको अभियान पनि दीर्घकालीन नहुने देखिएको छ । गुरुयोजनाको अभावमा अन्तर सरकारी निकायकै बीचमा पनि समन्वय हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा सडक सीमाभित्रको घर टहरा भत्काउन लामो समय लागेको, सडक सीमाको संरचना भत्काउन राजनीतिक दबाब र स्थानीयको अवरोध रहेको, लामो समयसम्म अदालतले निर्णय नगरिदिँदा थप समस्या पैदा भएको विभागका महानिर्देशक कार्कीको भनाइ छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायतका निकायले समयमा नै काम पूरा नगर्दा सडक विस्तारमा समस्या हुने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले काठमाडौँ उपत्यकाभित्रको सडक विस्तार र सुधारको काम २०७२ असारभित्र सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पाइप बिछ्याउन आवश्यक सडक खन्दा पनि निर्माण भइसकेको संरचनालाई क्षति नपु¥याउन निर्देशन दिइएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयले विद्युत् तथा टेलिकमको तार तथा पोल सार्नसमेत आवश्यक निर्देशन दिएको छ ।

सचिव सुवेदीले सरकारी निकायबीच नै आवश्यक समन्वय नहुँदा सडक विस्तारमा समस्या पैदा भएको स्वीकार गर्दै आगामी दिनमा व्यवधान हुन नदिने बताउनुभयो । रासस