बेइजिङ, ५ वैशाख । पाकिस्तानलाई आधारभूत संरचना तथा ऊर्जा परियोजनाका लागि ठूलो वित्तीय स्रोत आवश्यक भएको र आउँदो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले यस मुलुकको भ्रमण गर्दा इस्लामाबादलाई यस्तो रकम उपलब्ध गराउने घोषणा हुने जानकारी विदेश मन्त्रालयका एक अधिकारीले शुक्रबार दिएका छन् ।
इस्लामाबाद दक्षिण एसियामा चीनको दशकौँसम्मको नजिकको मित्र रहेको छ । चीनले हाल यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । चीन पाकिस्तानको प्रमुख व्यापार साझेदार हो भने उसले इस्लामाबादलाई सैनिक प्रविधि उपलब्ध गराएको छ ।
चीनका विदेश सहायक मन्त्री लियु जियानचाओले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले राष्ट्रपति सीको सोमबारदेखि पाकिस्तानको दुई दिने भ्रमण आरम्भ हुने र सहयोगको रकमको घोषणा सोही भ्रमणका अवसरमा हुने बताउनुभयो ।
उहाँले चीन–पाकिस्तान आर्थिक क्षेत्रका साथमा यातायात, आधारभूत तथा ऊर्जा परियोजनाका लागि पाकिस्तानलाई ठूलो वित्तीय स्रोत आवश्यक भएको बताउनुभयो ।
उहाँले पाकिस्तानलाई यी परियोजनामा उपयोग गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउन चीन तयार रहेको बताउनुभयो ।
वाल स्ट्रिट जर्नलले चिनियाँ राष्ट्रपतिले यी परियोजनाका लागि ४६ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गर्नुहुने उल्लेख गरेको छ । यी सहयोगको ठूलो भाग विद्युत उत्पादनमा खर्च हुने बताइएको छ ।
चिनियाँ राष्ट्रपति सीले गत सेप्टेम्बर महिनामा पाकिस्तानको भ्रमण गर्ने योजना बनाउनुभएको थियो । इस्लामाबाद उक्त समयमा सरकार विरोधी प्रदर्शनमा परेकाले उक्त भ्रमण कार्यक्रम रद्द भएको थियो ।
चीन वर्षौंसम्म इस्लामाबादको प्रमुख आर्थिक तथा सैनिक सहयोगी रहेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गत वर्ष बेइजिङको भ्रमण गर्दा उहाँले चीनबाट ४२ अर्ब अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने आश्वासन पाउनुभएको थियो ।
यी रकमको ठूलो भाग ऊर्जा क्षेत्रमा जानेछ । पाकिस्तान हाल नराम्रो ऊर्जा सङ्कनमा परेको छ । यसले त्यहाँको जनताको जीवन पनि कष्टकर बनेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार यस भ्रमणको समयमा अनेकौँ महत्वपूर्ण सम्झौता तथा समझदारीमा हस्ताक्षर हुने जानकारी दिएको छ । यस विषयमा थप विवरण उल्लेख गरिएको छैन ।
चीनका विदेश सहायक मन्त्री लीले गत नौ वर्षमा पाकिस्तानको भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुनुहुने र यो उहाँको यस वर्षको पहिलो विदेश भ्रमण हुने बताउनुभयो । रासस/एएफपी
















प्रतिक्रिया