१७ कार्तिक २०८३, मंगलबार

विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक छ: श्रममन्त्री श्रेष्ठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको वैठकमा मन्त्री श्रेष्ठले विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकता अनुरुप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने बताए ।

नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिक आपुर्तिको क्रममा रहेको लामो प्रकृयाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्तबनाउन नसकिएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको पूँजी, सीप, दक्षता र अनुभवलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए । रोजगारीको ग्यारेन्टी सहित सीप विकास कार्यक्रम सातवटै प्रदेशमा विस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री श्रेष्ठले बताए ।

उनले मन्त्रालय अन्तर्गतका आयोजनाहरुको भौतिक तथा वित्तिय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

सेवाग्राहीलाई पारदर्शी र चुस्त सेवा प्रदान गर्न पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक लगानीमा प्रोत्साहन गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाई, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताए । सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७.८ प्रतिशत फछर्यौट गरिएको र २.२ प्रतिशत फछर्यौटको प्रकृयामा रहेको जानकारी दिइएको थियो ।