
काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय निर्वाचनमा पनि काठमाडौँमा नेकपा एमालेले जित्ने बताएका छन् ।
बिहीबार काठमाडौँ महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले पार्टीले विश्वास गरे काठमाडौँ महानगरको मेयरमा आफ्नो दावी रहने पनि शाक्यले बताए ।
मेयर शाक्यले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ । विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ । यो निरन्तर रुपमा चलिरहन्छ । हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’
मेयर शाक्यले अगाडी भने, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक शहर हो । जत हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरु प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवद्र्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ । त्यहीअनुसार हामीले शुरु देखि नै भनिरहेका छौँ । यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’
उनले विकास निर्माणका कार्य कहिल्यै नसकिने र यसको निरन्तरता हुने बताए । त्यस्तै, निर्माण सम्पन्न हुने बित्तिकै रानीपोखरी सर्वसाधारणका लागि खोल्ने शाक्यको भनाइ थियो ।












प्रतिक्रिया