
काठमाडौं, २६ माघ । साधारण शेयर (आईपीओ) निष्काशनको तयारी गरिरहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति हासिल गरेको छ ।
भक्तपुर र काभ्रेपलाञ्चोकको सीमाना क्षेत्र साँगामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा आकर्षक प्रगति हासिल गरेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले खुद मुनाफमा १४८ प्रतिशतले बृद्धि गरेको छ । त्यस्तै रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत र खुद व्याज आम्दानीमा ५७ प्रतिशत प्रगति हासिल गर्दै अधिकांश सूचकहरुमा प्रगति गरेको विवरण प्रस्तुत गरेको छ ।
विवरण अनुसार खराब कर्जा करीब ५९ प्रतिशत घटेर १.०३ प्रतिशतमा सीमित राख्न संस्था सफल भएको छ, जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम भएको कम्पनीको दाबी छ । संस्थाले हालसम्मको सञ्चित मूनाफा र चालू आर्थिक वर्षको बाँकी ६ महिनामा आर्जन गर्ने मुनाफाबाट आगामी वर्ष शेयरधनीहरुलाई करीब ५० प्रतिशत भन्दा बढी लाभांश सजिलै वितरण गर्नसक्ने अवस्था बनाएको छ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमा ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर ७ लाख ९४ हजार ५ सय कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
आईपीओ फागुन ४ देखि ८ गतेसम्म निष्काशन हुनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० देखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटलले रहेको छ ।
आईपीओमा सी–आश्वा सदस्य रहेका बैैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई डबल बी रेटिङ दिएको छ ।















प्रतिक्रिया