
काठमाडौं, २५ माघ । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका नेपालीलाई ट्रिपलस्टारले नै उद्धार गरेको छ ।
म्यानपावरले हिजो आठ जनालाई उद्धार गरी नेपाल ल्याएको जानकारी दिएको छ । यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई छन् ।
युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ समेत गरेको थियो ।
यसैबीच, केही समयअघि साउदी अरेवियामा विरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरवको जेद्धामा स्वास्थ्य उपचार गरी हिजो स्वदेश फर्काइएको छ ।
नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरवमा अलपत्र परेका चार नेपालीलाई हिजो सोमबार स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिए ।















प्रतिक्रिया