८ कार्तिक २०८३, आइतबार

आज सरस्वती पूजा गरिँदै, हनुमानढोकामा वसन्त श्रवण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ ।

विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने चलन छ । विद्यालयहरूमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने चलन छ । आजैका दिनदेखि बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन समेत छ ।

सरस्वती पूजामा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

यसै अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण पनि गरिँदै छ । वसन्त श्रवणका लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको छ । यो पाठ १५ श्लोकको रहेको छ । आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ ।

वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।

तर, यो वर्ष कोभिडका कारण भीडाभाडमा प्रतिबन्ध लगाइएकाले सीमित मात्रमा मात्रै पर्व मनाइने छ ।