
काठमाडौँ, १८ माघ । सरकारले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको छ ।
बढेको मूल्यसहित अब कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जनाएका हुन् ।
सरकाले हिमाल आरोहण दल (नेपाली सेना)का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।
त्यस्तै, नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई चार वर्षका लागि नियुक्ति दिने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्ति दिने, सरकारको सचिव पदमा सहसचिव रामेश्वर दङ्गाललाई बढुवा गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने बैठकले निर्णय गरेको कार्कीले जानकारी दिए ।












प्रतिक्रिया