
काठमाडौं, १४ माघ। नेपाली कांग्रेसले शुक्रबार बोलाएको केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावबारेको एजेन्डालाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खासै महत्वमा राखेका छैनन्।
शुक्रबार दिउँसो ३ बजेका लागि भर्चुअल माध्यमबाट हुने बैठकमा कार्य सम्पादन समिति गठनबारेको विषयलाई महत्वमा राखिएको छ। सोही समिति गठनको एजेन्डा उल्लेख गरी केन्द्रीय सदस्यलाई पत्र पठाउनुले पनि चुनावबारे विषयले खासै महत्व नपाउने स्पष्ट गरेको छ।
‘चुनावको मिति सार्ने भन्ने चर्चाकाबीच कांग्रेसको बैठकले एउटा निचोड निकाल्ने अपेक्षा गरिएको छ। तर, यस विषयलाई खासै महत्वमा राखिएको छनक छैन’, कांग्रेस स्रोतले भन्यो।
केन्द्रीय समितिभन्दा पनि शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा सभापति देउवाले कस–कसलाई राख्छन् भन्नेचाहिँ चासोका साथ हेरिएको छ।
४६ सदस्यीय कार्यसम्पादन समितिमा सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता स्वतः कार्यसम्पादन समितिका सदस्य हुनेछन् । तर, अहिले कोषाध्यक्ष र प्रवक्ता नियुक्त भइसकेका छैनन् ।
त्यसबाहेक सभापतिले केन्द्रीय सदस्य मध्य ३१ जनालाई कार्यसम्पादन समितिको सदस्यको लागि प्रस्ताव गर्ने र केन्द्रीय समितिको बहुमतले पारित गर्ने विधानको व्यवस्था छ।











प्रतिक्रिया