६ कार्तिक २०८३, शुक्रबार

नेपालमा एकैचोटी सकिदैन, चरणबद्ध रूपमा युरो–६ मापदण्ड लागू गरौं : नाडा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा सवारी प्रदुषण मापदण्ड युरो–६ लागू गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि आवश्यक पूर्वाधार नभएकाले एकैचोटी लागू गर्न नहुने बताएको छ ।

सरकारको प्रस्ताव सकारात्मक भए पनि पूर्वाधार पर्याप्त नभएकाले चरणबद्धरूपमा लागू गर्दै जानु उचित हुने धारणा नाडाको छ । युरो–६ मापदण्ड लागू गर्नका लागि देशमा उपयुक्त पूर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति तयार गर्दै चरणबद्धरूपमा लागू गर्न सरकारसँग नाडाले अनुरोध समेत गरेको छ ।

त्यस्तै युरो–६ मापदण्ड लागू हुँदा कमर्शियल सवारीसाधनको मूल्य ४० प्रतिशतसम्मले बढ्ने नाडाको भनाइ छ । हिजो आइतबार नयाँ प्रदुषण मापदण्डको विषयमा पत्रकार सम्मेलन गरेर नाडाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘सवारीसाधनमा नयाँ मापदण्ड लगाउने विषयमा नाडा सकारात्मक छ । तर, एकैचोटी यूरो–३ वा त्यो सो–सरहको मापदण्डबाट यूरो–६ सरहमा उक्लिदा धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । त्यसले समग्रमा मूल्य वृद्धि गराउँछ,’ पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुब थापाले भने ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रदुषणको विषयमा व्यवसायीहरु पनि सकारात्मक रहेको जानकारी दिए । उनले यूरोका विभिन्न स्टेजको बारेमा जानकारी दिदै यूरो ४ वा सो–सरहको मापदण्ड नै तत्कालको लागि उपयुक्त हुने धारणा राखेका थिए ।

अहिलेकै अवस्थामा यूरो ६ वा सो–सरहको मापदण्ड बनाए कमर्शियल गाडीको मूल्य करिब ४० प्रतिशतले वृद्धि हुने बताउँदै श्रेष्ठले भने, ‘नीति निर्माताले यस विषयमा सोचेर सहि निर्णय गर्नु पर्छ । अन्यथा नेपालको ट्रान्सपोर्टेशन कष्ट निकै महंगो हुनेछ ।’

मूल्य बाहेक पनि यूरो ६ वा सो–सरहको मापदण्ड लागुगर्दा सर्भिसिङ नेटवर्क चुस्त बनाउन कठिन हुने नाडाले दावी गरेको छ । साथै, लोकल ग्यारेज संचालकलाई ट्रेनिङ लगायतका कामको लागि कम्तीमा २ वर्षको थप समय उपलब्ध गराउनु पर्ने नाडाको भनाई छ । त्यसको लागि अहिले यूरो ४ वा सो–सरहको मापदण्ड लागु गर्न नाडाले सरकारलाई सुझाव दिएको छ ।