
तुलसीपुर (दाङ), ६ माघ । तुलसीपुर उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना तयार पारेको छ ।
राजश्व विज्ञको परामर्शमा चार वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उप–महानगरपालिकाको राजश्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यले राजश्व सुधार कार्ययोजनाको नीति अघि सारिएको तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख भेषराज चन्दले जानकारी दिए ।
कार्ययोजनालाई टेकेर अघि बढेमा आर्थिक वर्ष २०८१/८२ मा दुई अरब ६२ करोड,३० लाख २३ हजार बढी राजश्व संकलन गर्न सकिने प्रक्षेपण गरिएको छ । यो प्रक्षेपण अत्यन्तै वैज्ञानिक र व्यावहारिक समेत भएको चन्दको दाबी छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा ६० लाख राजश्व संकलनको लक्ष्य लिएको उपमहानगरपालिकामा पुस मसान्तसम्म ११ करोड मात्र संकलन भएको छ ।
सुधार कार्ययोजनामा करका क्षेत्र, उपमहानगरमा रावश्य असुलीको वर्तमान अवस्था, राजश्व परिचालनका सन्दर्भको विद्यमान नीति र संस्थागत संरचना, जनशक्ति, विगतको राजश्व (आय) परिचालन अवस्था, उप–महानगरपालिकाको राजश्वको सम्भाव्यता, वर्तमान आन्तरिक आयका आधार, दर र प्रशासकीय संरचनाको जिम्मेवारी समेत स्पष्ट हुने गरी विलेश्लेषण गरिएको छ ।
सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले लक्ष्यअनुसार राजश्व संकलनका लागि अध्यक्ष र वडा सचिवहरूको तत्परता आवश्यक हुने बताएका छन् । राजश्व चुहावट हुँदा विकास निर्माणका कामहरू प्रभावित हुने भन्दै लक्ष्यअनुसार अघि बढ्न उनले निर्देशन समेत दिएका छन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव ओलीले उपमहानगरपालिको प्रयासले मात्रै सम्भव नहुने भएकाले राजश्व वृद्धिका लागि सबै वडाहरू जिम्मेवारीबोधका साथ लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती र तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिलिन केसीले कर असुली मात्रै भन्दा पनि करको दायरा फराकिलो बनाउने योजनाका साथ अघि बढ्नुपर्ने भन्दै कर निर्धारण गर्दा व्यवसायीहरूसँग पनि छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरूले विज्ञापन कर र सरसफाई कर व्यवसायीसँग समन्वय नगरेर ल्याएको भन्दै यसलाई पुनर्विचार गर्न पनि माग गरेका छन् ।
तुलसीपुर उपमहागनरपालिका उप–प्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तयार गर्नका लागि सहयोग गर्ने साझेदारी संस्था यूएसए आइडी, संघीयता सहयोग कार्यक्रमका तुलसीपुर प्रतिनिधि विश्वमणि खनालले नगर प्रमुख घनश्याम पाण्डेलाई राजश्व सुधार कार्ययोजना पुस्तक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा १९ वडाका वडा अध्यक्ष, वडासचिव लगायतको सहभागिता थियो ।















प्रतिक्रिया