
काठमाडौं, ५ माघ। नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरिक्ष (एआईजी) दरबन्दी थप्ने सरकारले अन्तिम तयारी गरेको छ। आगामी साता राष्ट्रिय सभाको निर्वाचन सकिनासाथ हुने मन्त्रिपरिषदको बैठकले दरबन्दीसँगै तीन जना नायव महानिरिक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्ने तयारी गरेको छ।
उच्च स्रोतका अनुसार दरबन्दी थपका लागि गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले १२ माघपछिको मन्त्रिपरिषदको बैठकमा दरबन्दी थपसँगै बढुवा गर्ने डीआईजीको नाम प्रस्ताव गर्नेछन्।
ती एआईजी थपिने भएपछि डीआईजीहरूको दौड सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसनिकट एक जनासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्रीको सिफारिसमा डीआईजीलाई एआईजी बढुवा गरिनेछ।
हालका प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीका ब्याची पनि डीआईजी नै रहेका छन्। उनको ब्याचबाट भने एआईजीमा बढुवा हुने सम्भावना कम रहेको उच्च स्रोतको दाबी छ।
एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची नै एआईजीमा बढुवा हुने निश्चित जस्तो छ। प्रतिस्पर्धामा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालयका डीआईजी उत्तम सुवेदी, रविन्द्र धानुक, बसन्त लामा र अरुण बीसी छन्।
यी ५ मध्ये तीन जनालाई एआईजीमा बढुवा गरिनेछ। ‘मेरिटका हिसाबमा नै बढुवा गर्नुपर्छ भन्ने धारणा बनेको छ। तर भागवन्डाका आधारमा पनि एआईजी बढुवा हुनसक्छ’, उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री र प्रचण्डको सहमतिका आधारमा बढुवा हुन्छ।’
अघिल्लो केपी शर्मा ओली सरकारले दुई एआईजी दरबन्दी थप गर्दै पोखरेल र थापाको बढुवा गरेको थियो। ‘अघिल्लो सरकारले नै दरबन्दी थप गरेपछि यो सरकारले पनि गर्दा केही फरक पर्दैन भन्ने निचोडका आधारमा नै निर्णय गर्न लागिएको हो’, सरकारमा सहभागी एक मन्त्री भन्छन्,‘अन्याय होइन न्याय गर्नका लागि दरबन्दी थपिन लागेको हो।’
आगामी वैशाखमा आईजी क्षत्रीसँगै एआईजीत्रय हरि पाल, प्रद्युम्न कार्की र निरज शाही पनि घर जाँदैछन्। उनीहरूसँगै डीआईजी नै रहेका क्षत्रीका अन्य ब्याची पनि घर जाँनेछन्। एआईजी पोखरेल र थापासँगै अब बढुवा हुने उनका ब्याची एआईजी आगामी आईजीको प्रतिस्पर्धामा हुनेछन्।















प्रतिक्रिया