
काठमाडौ, ४ माघ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी दाङ पठाएका गुन्डा नाइके विकास पुनका अनेक अपराधका फेहरिस्त छन्। तर, उनलाई ४९ लाख ५० हजार ठगी गरेको अभियोगमा सीआईबीले पक्राउ गरेको हो।
सीआईबीले जारी गरेको विवरणमा भनिएको छ,‘जिल्ला प्रहरी कार्यालय दाङमा ठगी कसुर अन्तरगत मुद्दा दर्ता भई प्रतिवादी विकास पुन समेत भएको ठगी कसुरमा फरार भई काठमाडौंका बिभिन्न स्थानहरुमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा गते काठमाडौं–११ सुन्धारा स्थित होटल भ्यु ग्लोबलबाट पक्राउ गरियो।’
उनलाई आवश्यक कारबाहीका लागि दाङ पठाइएको छ। तर पुनका यी भन्दा पनि जघन्य अपराधका अभियोगहरू थिए।
गुन्डागर्दीको कर्ममा लागेका पुनले २३ फागुन ०६४ मा दाङका किशोर केसी र प्रविण केसीलाई गोली, खुकुरीलगायतका हातहतियार प्रयोग गरी कुटपिट गरेको कसुरमा दाङ जिल्ला अदालतबाट धरौटी राखी छुटेका थिए।
यसपछि उनका अपराधका फेहरिस्त अझ बढ्न थालेको प्रहरीको रेकर्डमा छ। ५ कात्तिक ०६५ मा दाङस्थित भ्याली होटलमा पुन समेतका व्यक्तिहरुले हातहतियार देखाई डाँका चोरी गरेको अभियोगमा पनि फरार अभियुक्त हुन्।
यसैगरी ७ माघ ०६९मा यामबहादुर थापालाई कुटपिट गरी घाईते भएको घटनामा संलग्न रही ज्यान मार्ने अभियोगमा पनि फरार थिए।
‘यीनका अनेक दर्जन अपराध छन्। प्रहरीले खोजी कार्य जारी राखेको थियो। तर सत्ताको संरक्षणका आधारमा उनी बच्न सफल भएको थियो’, एक उच्च अधिकारी भन्छन्,‘अहिलेचाहिँ उनले पहुँच भएका व्यक्तिकै रकम नदिने भएपछि प्रहरी दबाबमा आयो।’
कपिलबस्तुका तिलक थापा पनि राजनीतिक रुपमा पहुँचमा रहेका कारण उनको दबाबमा पुनलाई पक्राउ गरिएको बताइन्छ। थापा नेपाली कांग्रेस सम्बद्ध तरुण दल कपिलबस्तुका क्षेत्रीय सभापति हुन्।
पुनका अन्य प्रकरण पनि चर्चामा थिए। १२ चैत ०७० मा दाङ रोल्पा इरिवाड–५ बस्ने पदम चन्दलाई गोली प्रहार गरी गम्भिर घाईते बनाएको घटनामा संलग्न रही हातहतियार तथा खरखजाना कसुरमा फरार रहेका पुन ६ मंसिर ०७३ मा दाङ घोराही–११ स्थित लोक बहादुर केसीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा संलग्न अभियोगमा पनि भागिरहेका थिए।
पुनले विभिन्न राजनीतिक दलसँग आवद्ध रहेका गुन्डासँग पनि सहकार्य गरेको खुलेको छ। उनले नेपालगञ्जदेखि दाङसम्म गुन्डागर्दीलाई चलायमान बनाउनका लागि इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ (घैंटे)सँग पनि सहकार्य गरेको बताइन्छ।















प्रतिक्रिया