
काठमाडौं, ३ माघ । तिब्बतको फ्याङ तुङगारबाट हुम्ला आएको बताउने चम्फासिंह लामाको परिवारमा १७ पुस्तासम्म बहुपति प्रथा चल्यो ।
तर अहिले उनका छोरा-नातिको पालादेखि भने यो चलन हटेको चम्फासिंहले बताए । उनले भने, ‘हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ । हाम्रा छोराहरूले मानेनन् । सबैले आ-आफैले विवाह गरे । सबै छुट्टिएर बसेका छन् ।’
चार दाजुभाइकी एक्ली पत्नी छोडोल्माले चार छोरा र पाँच छोरीलाई जन्म दिएकी थिइन् । उनीहरूमध्ये कान्छा छोराबाहेक सबै छोराछोरीको विवाह भइसकेको छ ।
शिक्षाले सिकायो
करिब दुई दशक अघिसम्म लामा समुदायमा घरघरै रहेको भनिएको बहुपति प्रथा पछिल्लो समय केही परिवारमा मात्रै सीमित हुन पुगेको लामा समुदायका अगुवाहरू बताउँछन् ।
“युवा पुस्ता शिक्षित भएपछि उनीहरूले यो चलन छाड्दै गएका छन्”, सिमकोट बुरौँसेका राप्दान लामा भन्छन्, “पहिले अशिक्षित हुँदा धेरैको त्यस्तै थियो । अहिले सबै जना शिक्षित भए । त्यसैले बहुपतिको चलन पनि हट्दैछ ।”
काठमाडौँमा बसेर स्नातकोत्तर अध्ययन गरिरहेका युवा सांगे तंजन लामा समय परिस्थितिले नै बहुपति प्रथाको संस्कारमा परिवर्तन ल्याएको बताउँछन् ।
उनले भने, “शिक्षाले धेरै कुरा सिकायो । यो संस्कारलाई कैयौँले नराम्रो रूपमा लिएको पाइयो ।” बहुपति प्रथामा भएका जटिलता र व्यक्तिगत स्वतन्त्रताले गर्दा पनि युवा पिँढीले यो संस्कारलाई निरन्तरता दिन नसकेको बताइन्छ ।
बहुपति प्रथामा जुन भाइले पहिला विवाह गर्छ अरू दाइ भाइले पनि उनैलाई श्रीमती स्विकार्नुपर्छ । तर कान्छो वा अरु भाइको उमेर ८-१० वर्ष वा त्योभन्दा बढी फरक भएमा उनीहरूलाई एकल विवाह गर्ने छुट छ ।
लामा समुदायमा प्रायजसो जेठो भाइले मागेर वा मन पराएर विवाह गर्ने र अरू भाइले उनैलाई श्रीमती स्विकार्ने चलन रहँदै आएको थियो ।
सँगै बस्दा मनमुटाव
तर केही बर्ष यता भने शिक्षा र चेतनाको विकाससँगै एउटै श्रीमती हुँदा दाजु-भाइबीच हुने मनमुटाव र झगडाले गर्दा पनि यो चलन हट्दै गएको लामा समुदायका अगुवाहरू दाबी गर्छन् ।
पहिला धेरै भेडा बाख्रा, च्याङ्ग्रा, चौँरी पाल्ने र व्यापार व्यवसायको लागि भोट-मधेस गर्ने चलन थियो ।
त्यो बेला एउटा भाइ व्यापारमा, अर्को भेडी गोठमा, कोही कतै कोही कतै हुने भएकोले एउटै श्रीमती विवाह गरे पनि दाजुभाइहरू सधैँ सँगै बस्न पाउँदैनथे ।
“फरक-फरक ठाउँमा बस्ने भएकोले घरमा पालोअनुसार आउने गर्थे”, ८० बर्से चम्फासिं लामा भन्छन्, “अहिले पशुपालन र व्यापार व्यवसाय गर्न बाहिर जानुपर्दैन ।”
सबै दाजुभाइ सँगै बस्दा मनमुटाव हुने भएकोले पनि अहिले धेरै युवाहरूले बहुपति प्रथा त्यागेर एकल विवाह गर्न थालेको बताइन्छ ।
छ्याङ लिएर केटी माग्ने चलन
लामा समुदायमा चिन्डोमा छ्याङ (जाँडको झोल) लिएर केटी माग्न जाने चलन छ ।
चिन्डोबाहेक अन्य भाँडामा छ्याङ लिएर केटी माग्न गए कम मान्यता हुने राप्दान लामा बताउँछन् ।
“छोरी दिन्छन् भन्ने पूर्ण विश्वास भएका घरमा मात्रै केटा पक्ष केटी माग्न जान्छन्”, उनी भन्छन्, “तर कहिलेकाहीँ विश्वास गरेकै घरले छोरी दिँदैनन्”।
बहुपति झेलेका महिलाहरूको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आउने र भाइहरूबीचको झगडाले कहिलेकाहीँ पीडा खेप्नु परेको बताइन्छ ।
बहुपति प्रथामा महिलाले जस्तै पुरुषहरूले पनि विभिन्न समस्या खेप्ने गरेको उनीहरू बताउँछन् ।
मन परेको भाइसँग श्रीमती बस्दा अरू भाइहरूले बुढेसकालमा दुख पाउने गर्छन् । बहुपति प्रथामा घरको मुली श्रीमती हुने र उनले नै श्रीमान्हरूलाई काममा खटाउने गर्छिन् । सन्तानहरू जुन दाजुभाइको भए पनि नागरिकतामा भने बाबुको रूपमा जेठो भाइको मात्र नाम राख्ने चलन छ ।
लामा समुदायका अगुवाहरू चलअचल सम्पत्ति बाँड्नु नपर्ने, कामको बोझ कम हुने भएकोले पूर्वजहरूले बहुपति प्रथा अपनाएको दाबी गर्छन् ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको बुरौंसे, तोर्पा, लिमाटाङ, बरगाउँ, रिमी, दोजाम लगायतका गाउँमा बहुपति प्रथा संस्कारमा बिस्तारै कमी आइरहेको पाइन्छ ।
हुम्लासहित नेपालका लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ लगायतका जिल्लाका विभिन्न गाउँ बस्तीमा यो प्रथा छ । प्रकाश पन्त/बीबीसीबाट















प्रतिक्रिया