६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिट्यान्सबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्न मोडर्न रेमिट्यान्स कम्पनीसँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात महालक्ष्मी बैंकका ग्राहकले विश्वका विभिन्न स्थानहरूबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरूमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखामार्फत सेवा प्राप्त गर्न सक्नने बताइएको छ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरूले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने छन् । बैंकले हालसम्म २७ वटा रेमिट कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरूलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको बताएको छ ।

साथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५ वटा, प्रदेश २ मा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करीब ६ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमएभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्श कार्ड र डलर कार्ड पनि जारी गरिसकेको बताएको छ ।

कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले ग्राहकवर्गमा अपिल गरेको छ ।