८ कार्तिक २०८३, आइतबार

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छ : उपमहासचिव ज्ञवाली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो गल्ती सच्याउने वा राजीनामा दिनेबाहेकको विकल्प नभएको बताएका छन् ।

आफ्नो दल नेकपा एमाले विभाजनको कारण सापकोटा नै भएको भन्दै उनले सभामुखले गल्ती सच्याएर वा राजीनामा दिएर संसद चलाउन सक्ने बताएका छन् । आज शुक्रबार राजधानीमा भएको एक साक्षातकार कार्यक्रममा उपमहासचिव ज्ञवालीले भने, ‘सभामुख स्वयम् एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो । सभामुखले गल्ती सच्याउनुपर्यो कि त बाटो छाड्नुपर्यो ।’

ज्ञवालीले सदनलाई चलायमान बनाउने आफूहरूको भरपूर चाहना भए पनि सभामुख स्वयम् दल विभाजनकारी गतिविधिमा लागेकाले कडा रूपमा प्रस्तुत हुन वाध्य भएको स्पष्ट पारे । ‘उहाँले दोहोरो भूमिका खेल्न लाग्नु भो । जसपाले सरिता गिरिलाई कारबाही गरेको सूचना उहाँले २४ घन्टामै टाँस्नुभो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरूलाई गरेको कारबाही ४८ घण्टामा टाँस्नुभो,’ ज्ञवालीले भने, ‘तर नेकपा एमालेले कारबाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।’

ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने समेत स्पष्ट पारेका छन् । संसदको अवरोध चाँडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उनले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनुपर्नेमा जोड दिएका छन् ।