
बुटवल, २९ पुस । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड भैरहवा रूपन्देहीले सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्था सञ्चालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाहको अध्यक्षता र संघीय सांसद तथा संस्थाका संस्थापक अध्यक्ष भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सातौं बार्षिक साधारण सभाले तीन वटा सामान्य प्रस्ताव र विभिन्न छ वटा विशेष प्रस्तावहरू पारित गरेको छ ।
भैरहवामा भएको संस्थाको सातौं साधारण सभाले तीन वटा विशेष प्रस्तावहरूमा अध्यक्षले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिकको विषयमा राखिएको प्रस्तावलाई पारित गरेको छ ।
त्यसैगरी २०७८ असार मसान्त सम्म कायम रहेको चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने, विशेष प्रस्तावको १ नम्बर बमोजिम बोनस सेयर बाँडफाँड बमोजिम सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न आवश्यक एक करोड ७८ लाख ४५ हजार एक सय अठार रूपैयाँ तीन पैसा बराबरको सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक अफ रिङ्ग) जारी गर्ने, विशेष प्रस्तावको बुँदा नं. १ र २ बमोजिम बोनस सेयर बाँडफाँड पश्चात तथा थप सार्वजनिक निष्काशन जारी पश्चात पुँजी बृद्धि गरी जारी तथा चुक्तापूँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रूपैयाँ तीन पैसा र ५० करोड रूपैयाँ अधिकृत पुँजी कायम गरी सोही अनुसार नियमावली र प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, प्रवन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निदेशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने, सञ्चालकको भक्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रयोजनार्थ उपयुक्त देखिएमा सो सँग सम्बन्धित आवश्यक सम्पूर्ण काम कारवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण रूपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सातौं बार्षिक साधारण सभाले पारित गरेको छ ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव नारायण अधिकारीको सत्तचालन र संस्थाका सञ्चालक समिति सदस्य खिलराज मैनालीको स्वागत मन्तव्य सँगै सुरु भएको सातौं बार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले संस्थाको भावी रणनीति र बर्तमान अवस्थाको बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । भावी रणनीतिहरू प्रस्तुत गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत पाठकले संस्थालाई उदाहरणीय लघुवित्त वित्तीय संस्थाको रूपमा विकास गर्न हरसम्भव प्रयासरत रहिरहेको बताए ।
उनले आवश्यक स्थानहरूमा थप शाखा सञ्जालहरू बृद्धि गर्ने, सेवाग्राहीहरूको संख्या बृद्धि, डिजिटल दूर नियन्त्रण/अनुगमन प्रणाली परीक्षण स्वरूप केन्द्रीय कार्यालय लगायत, प्रादेशिक कार्यालय र अन्य शाखा कार्यालयहरूमा समेत सिसिटिभी जडान गर्ने, पेपर लेस संस्थाको रूपमा विकास गर्ने, रियल टाईम बेसिसमा कार्यगर्ने व्यवस्थाको लागि क्यू आर कोड, एसएमएस सर्भिस, मोवाईल बैंकिङ/ट्याबलेट रेकर्डिङ जस्ता आधुनिक प्रविधी युक्त सेवासुविधाहरूको विकास र विस्तार गर्ने, ग्राहक संरक्षण सिद्धान्तलाई अवलम्बन गर्दै ग्राहक अभिभावकको आर्थिक कारोबारको विषयमा सिधै संस्थाको वेबसाईट मार्फत नायब प्रमुख कार्यकारी अधिकृत र जनशक्ति ब्यवस्था विभाग सँग सम्पर्क गरी गुनासो राख्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए ।
हाल १७ करोड ६१ लाख ६९ हजार सात सय छ रूपैयाँ ३८ पैसा चुक्तापुँजी रहेको संस्थाको अधिकृत पुँजी ३० करोड रूपैयाँ पुगेको छ भने तीन अर्ब ३२ करोड ३४ लाख सात हजार एक सय २९ रूपैयाँ ९७ पैसा कर्जा लगानी ९४ करोड ४६ लाख ९२ हजार छ सय ५० रूपैयाँ ३३ पैसा निक्षेप संकलन गरेको संस्था राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । जसका अधिराज्यभरका २८ जिल्लाहरूमा ८२ वटा शाखा सञ्जालहरू रहेका छन् भने तीन सय पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।















प्रतिक्रिया