१३ कार्तिक २०८३, शुक्रबार

यसरी हुँदैछ पूर्वप्रधानमन्त्री थापाको अन्त्येष्टि, शुक्रबार सार्बजनिक विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-bahadur-thapa1

काठमाडौँ, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ ।

शुक्रबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको हो । राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिमा सरकारका तर्फबाट सचिव नारायण गोपाल मलेगु र परिवारका तर्फबाट नाति सिद्धार्थ थापा सदस्य छन् । समितिले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाउने राप्रपाका सहायक महामन्त्री हेमजङ गुरुङले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, पूर्वप्रधानमन्त्री थापाको पार्थिब शरीर भारतबाट एयरएम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको छ । उहाँको पार्थिब शरीर काठमाडौँको मालिगाउँस्थित निजी निवासबाट शुक्रबार बिहान १० बजे पार्टी कार्यालय लगी १ बजेसम्म पार्टी कार्यालयमा र १ बजेदेखि दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ । अपरान्ह चार बजे राजकीय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने सहायक महामन्त्री गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, राप्रपाको बिहीबार बिहान बसेको आकस्मिक बैठकले थापाको निधनमा १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । सात दिनसम्म पार्टीको झण्डा झुकाउने, १३ दिनसम्म पार्टीको कुनै औपचारिक कार्यक्रम नगर्ने र तेह्रौ दिनको तिथिमा ७५ जिल्लामा शोकसभा आयोजना गर्ने राप्रपाको निर्णय छ ।

८८ बर्षीय थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यप्रश्वाससम्बन्धी समस्या भएका कारण उहाँ चैत १६ गते उपचारका लागि भारत जानु भएको थियो । थापाले गत चैत ५ गतेमात्र आफ्नो ८८ औँ जन्मदिन मनाउनुभएको थियो ।

राप्रपा वरिष्ठ नेता रहनुभएका थापा संविधानसभाका जेष्ठ सदस्य समेत हुनुहुन्छ ।

शुक्रबार राष्ट्रिय विदा

पाँच पटक नेपालको प्रधानमन्त्री बनेका थापाको निधनमा शोक मनाउन सरकारले शुक्रबार राष्ट्रिय विदा दिने भएको छ ।

विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्:
कालले चुँडेर लग्यो थापालाई, ढल्यो एउटा इतिहास