९ कार्तिक २०८३, सोमबार

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन शुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन शुरू गरिएको छ ।

भेञ्चर वेस्ट टू इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन शुरू गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यो आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ । उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सीईओ अनुपमा खुञ्जेली अतिथिका रुपमा उपस्थित थिए ।

फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताएका छन् । यसैगरी, सीईओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताइन् । दीर्घकादीन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सँधै तत्पर रहेको उनको भनाइ छ ।

दैनिक ३० टन क्षमताको फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करीब ५ सय किलोग्राम जैविक मल तथा करीब १० हजार लिटर तरल मल उत्पादन हुने छ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।

फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सीएनजी ग्यास उत्पादन हुने छ । जसबाट धरानमा रहेका तीनपाङ्ग्रे सवारीसाधन (टेम्पो)मा प्रयोग गरिने छ । धरानमा रहेका करीब ३०० वटा टेम्पोहरूमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिने छ ।

यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १ हजार ५ सयदेखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुने बताइएको छ । जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सीएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनाका साथै वातावरणमैत्री समेत रहेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीनपाङ्ग्रे टेम्पोलाई सीएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ ।