
लमजुङ, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
लमजुङ उद्योग वाणिज्य संघको ३५औं साधारणसभा तथा ४६औं स्थापना दिवसलाई हिजो सोमबार बेंशीशहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरूबीच लगानीमैत्री नीतिनियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।
हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उनको भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालको भनाइ छ ।
‘कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र वाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ,’ ढकालले भने, ‘मलेसियाका प्रधानमन्त्री डा. महाथिर नेपाल आउँदा उहाँलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उहाँले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताउनुभएको थियो ।’
निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने ढकालको भनाइ छ । नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको पनि उनले बताएका छन् ।
गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्रशर्मा उपस्थित कार्यक्रममा ढकालले गण्डकी प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्नसक्ने बताए । पर्यटनसँगै कृषि, जलविद्युतलगायत क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको उनको भनाइ छ । उचित नीतिको अभावका कारण व्यवसायीलाई उत्प्रेरित गर्न नसकेको स्मरण गर्दै ढकालले त्यसका निम्ति पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी उनले त्यसअवसरमा दिएका छन् । लमजुङमै बैंकिङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको धारणा उनले व्यक्त गरेका छन् ।















प्रतिक्रिया