
काठमाडौं, २६ पुस । सुनिल शर्माले सञ्चालन गरेका नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी)मा अध्ययनरत विद्यार्थी अहिले आन्दोलनमा छन्।
मापदण्डभन्दा बाहिर गएर अधिक रकम अनिवार्य उठाएको भनी जारी आन्दोलनका क्रममा आइतबार बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा तनाव पनि भएको थियो।
तर राज्यलाई पनि नटेरी उठाएको रकमको प्रतिरोध गर्ने, विद्यार्थीलाई तोकिएको शुल्क नतिरे कक्षामा बस्न नदिने शर्माको अडान कायम छ। यति मात्र होइन सार्वजनिक रुपमा नै शर्माले मेडिकल व्यावसाय धराशायी भएको दाबी गरिरहेका छन्। उनी मिडियामा विद्यार्थी आन्दोलनको प्रतिरोधमा उत्रिएका छन्।
उनले एउटा अन्तरवार्तामा मेडिकल कलेज व्यावसाय धराशायी भएको बताएका छन्। तर उनी मात्र एक्ला त्यस्ता व्यावसायी हुन् जसले तीन वटा मेडिकल कलेज र मेडिकल सम्बन्धी ५२ वटा संस्था सञ्चालन गरिरहेका छन्। शर्मालाई आम मानिसले सोधेका छन्– व्यावसाय धराशायी भए किन तीन वटा मेडिकल कलेज किनेको?
नोबेल मेडिकल कलेजबाट अकुत रकम कमाएका शर्माले केएमसी र नेपालगञ्ज मेडिकल कलेज हालसालै खरिद गरेका हुन्। मेडिकल कलेज व्यावसायमा शर्माको फड्को विद्यार्थीलाई ठगी मात्र गरेर भएको होइन, राजनीतिक पहुँचका आधारमा पार्टनरलाई दबाब र प्रभावमा पारी लखेट्ने कामबाट पनि भएको हो।
नोबेल स्थापना कालमा प्रबन्ध निर्देशक रहेका शर्माले त्यहाँ अध्यक्ष रहेका डा. ज्ञानेन्द्र गिरी र अर्का लगानीकर्ता डा. ज्ञानेन्द्र कार्कीलाई लखेटेका थिए। शर्माको अत्याचारको विषयमा कार्कीले काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए भने गिरीलाई हटाउनका लागि आपराधिक बाटो नै समातिएको थियो।
शर्माले माओवादी नेतासँग मिलेर तत्कालिन छापामारद्वारा गिरीलाई अपहरण गरी कुटपिट समेत गराएका थिए। दुवैजनालाई साइड लगाएपछि शर्माले एकल रुपमा मेडिकल कलेज चलाउँदै कमाएको अकुत सम्पत्तिका आधारमा केएमसी र नेपालगञ्ज मेडिकल कलेजमा ठूलो हिस्सा (५१) प्रतिशत भन्दा बढीको शेयर किनेका थिए।
‘माओवादी र कांग्रेससँग साँठगाँठ गरी शर्माले मेडिकल क्षेत्रमा आतंक मच्चाएका छन्। उनी खुला रुपमा नै विद्यार्थीमाथि अन्याय गर्छु भन्दा राज्य चुप लागेर बसेको छ’, पीडितहरू सुनाउँछन्।
शर्मा आफैं पनि नेपाली कांग्रेससँग सम्बद्ध सक्रिय राजनीतिमा लागेका थिए। उनी गत निर्वाचनमा मोरङको प्रदेश सभामा उठे पनि जित निकाल्न सकेनन्। माओवादीका नेता बर्षमान पुनलगायतसँग शर्माको आर्थिक साइनो पनि रहेको बताइएको छ। यद्यपि उक्त विषयको पुष्टिचाहिँ हुन सकेको छैन।
‘कतिपयले माओवादीले युद्धकालमा लुटेर जम्मा पारेको रकम नै नोबेल मेडिकल कलेजलगायतमा लगानी गरेको भन्छन्, हावा नचली पात त हल्लिएको होइन होला नि!’, शर्मा सन्निकटहरू नै भन्छन्,‘उनका गतिविधिले पनि सोही कुराको पुष्टि गर्ने संकेत दिन्छ।’
शर्माको ज्यादतिविरूद्ध पीडित विद्यार्थी र अभिभावकको आन्दोलनमा विद्यार्थी संगठनहरूको पनि साथ रहेको छ। तर कतिपयलाई शंका छ– शर्माले ति विद्यार्थी संगठनका नेतालाई समेत खरिद गरेर पीडितलाई रकम तिराउन बाध्य हुनेछन्।















प्रतिक्रिया