
काठमाडौं, २३ पुस । नेकपा एमालेले आज शुक्रबार देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दै छ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । गत मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले आज देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो ।
यस्तै प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेले गरेको छ । यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ ।
मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ ।
त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ । जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुने छ ।















प्रतिक्रिया